भित्री कपडामा लुकाएर ल्याउँदै गरेको २८०.२९ ग्राम सुनसहित बिहीबार पोखराबाट एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका– १ घर भई हाल काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख जोशीको कमान्डका खटिएको प्रहरी टोलीले काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा सवार गुरुङलाई बसबाट झर्ने क्रममा पोखरा– ९ स्थित बसपार्कबाट पक्राउ गरेको हो।
प्रहरी टोलीले गुरुङको शरीर खानतलासी गर्ने क्रममा उनको छातीमा सेतो टेपले बेरी भित्री कपडामा लुकाइछिपाई राखेको अवस्थामा बिस्कुट आकारको र औँठीजस्तो देखिने रिङ गरी २८०.२९ ग्राम (२४.०३ तोला) सुनसहित नियन्त्रणमा लिएको जोशीले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।