सिआइबीले सभामुखलाई गरायो सांसद शर्मा पक्राउको जानकारी

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सांसद सुनीलकुमार शर्मा पक्राउबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। 

केही बेरअघि संघीय संसद् सचिवालय पुगेको सिआइबी टोलीले सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी गराएको हो। 

कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परे सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्ति (प्रतिनिधिसभा भए सभामुख र राष्ट्रिय सभा भए अध्यक्ष)लाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा १०३ को (६) मा ‘संघीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन। तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिनेछैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,’ भनी उल्लेख छ। 

शर्मा प्रतिनिधिसभा सदस्य रहेकाले उनको पक्राउबारे सभामुखलाई जानकारी गराइएको हो। 

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद शर्मालाई सिआइबीले आज दिउँसो तीन बजे गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो। 

मेडिकल व्यवसायीसमेत रहेका शर्मा नक्कली सर्टिफिकेट कसुरमा पक्राउ परेका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार सांसद शर्माको आइएससीको शैक्षिक प्रमाणपत्र नक्कली पाइएकाले किर्ते कागजातमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

सुझावित समाचार