आलमले लिए १५ वर्षको करिअरबाट बिदा

अमेरिकाको टी–२० फ्रेन्चाइज लिगमा खेल्न पाकिस्तानका पूर्वओपनर फवाद आलमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

 पाकिस्तानका ओपनर फवाद आलमले १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । ३७ वर्षीय आलमले अब अमेरिकाको क्रिकेट लिगमा आबद्ध हुने जनाएका छन् । उनी अहिले अमेरिकामा चलिरहेको माइनर लिग टी–२० मा सिकागो किंग्स सेभेनमा आबद्ध छन् । सन् २००७ मा उनले पाकिस्तानी टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अमेरिकामै स्थायी बसोवास गर्ने योजना बनाएका आलमले धेरै अगाडि नै पाकिस्तानको नागरिकता त्यागिसकेका थिए । 

सन् २००७ मा उनले श्रीलंकाविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । सन् २०१५ सम्म उनी पाकिस्तानको एकदिवसीय टोलीमै रहे । उनले अन्तिमपटक बंगलादेशविरुद्ध एकदिवसीय खेल खेलेका थिए । सन् २००७ मा उनी टेस्ट टोलीमा परे । उनले टेस्टमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । उनले सन् २०२२ को २४ जुलाईमा श्रीलंकाविरुद्ध नै आफ्नो अन्तिम टेस्ट खेलेका थिए । सन् २००७ मै उनले केन्याविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्युको अवसर पाए । अन्तर्राष्ट्रिय टी–२० खेलमा उनी तीन वर्ष मात्र टोलीमा सहभागी भए । न्युजिल्यान्डविरुद्ध उनले अन्तिमपटक पाकिस्तानी टोलीबाट टी–२० खेलेका थिए । 

पहिलो श्रेणीमा ४३ शतक
पाकिस्तानको टोलीमा उनलाई अलराउन्डर खेलाडीका रूपमा लिने गरिन्छ । उनले १९ टेस्टमा पाँच शतक र दुई अर्धशतकको मद्दतमा एक हजार ११ रन जोडेका छन् । यसैगरी, ३८ एकदिवसीय खेलमा उनले एक शतक र ६ अर्धशतकको सहयोगमा ९ सय ६६ रन जोडे । २४ अन्तर्राष्ट्रिय टी–२० मा उनले एक सय ९४ रन बनाएका छन् । टेस्ट फम्र्याटमा उनले तीन इनिङ्समा मात्र बलिङ अवसर पाउँदा ५४ रन खर्चंदै दुई विकेट हात पारे । एकदिवसीयमा पाँच र अन्तर्राष्ट्रिय टी–२० मा उनले आठ विकेट लिएका छन् । 

पाकिस्तानको पहिलो श्रेणीमा आलम राम्रा ब्याट्सम्यानका रूपमा चिनिन्छन् । उनले दुई सय एक पहिलो श्रेणीको क्रिकेट करिअरमा ४३ पटक शतक बनाएका थिए । यसक्रममा उनले १४ हजार पाँच सय २६ रन बटुले । यसैगरी, २०३ लिस्ट एमा उनले आठ शतक तथा ४० अर्धशतक बनाएका छन् । उनले यस विधामा ६ हजार पाँच सय ७७ रन जोडेका छन् । सन् २०१० मा पाकिस्तानले पहिलोपटक आइसिसी टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका मुख्य खेलाडी थिए ।

सुझावित समाचार