काठमाडौंको भृकुटीमण्डपमा भदौ १५ देखि १७ सम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । विद्युत्, विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित यो दोस्रो संस्करणको प्रदर्शनी हो ।
नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेससम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको जनाइएको छ । यो नेपालको पहिलो एक मात्र बृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युत्सँग सम्बन्धित प्रदर्शनी भएको आयोजकको दाबी छ ।
प्रदर्शनीले आधारभूत रूपमा प्रदर्शनी, सम्मेलन र साझेदारी गरी तीन सोचहरूको समायोजन गर्न खोजेको जनाइएको छ । यी तीन सोचहरूबाट नेपालमा विद्युत्, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकको अपेक्षा छ ।
उपभोक्ताले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामान जस्तै एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेकाले प्रदर्शनीमा सरोकारवालाको ध्यानाकर्षण हुने आयोजकले जनाएका छन् । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण प्रदर्शनीमा भारतीय उपमहाद्वीपका सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकको दाबी छ । प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार गराउने उल्लेख गरिएको छ ।
प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था हुनुका साथै विद्युत्, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रम पनि हुने आयोजकको भनाइ छ ।