जम्बो कमिटी बनाउँदा पनि नेविसंघमा असन्तुष्टि

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

संस्थापनइतर समूहका असन्तुष्ट नेताहरू समानान्तर समिति गठनको तयारीमा, रणनीति बनाउन छलफलमा सिटौला समूह 

इतिहासकै जम्बो तदर्थ समिति गठन हुँदा पनि नेपाल विद्यार्थी संघमा असन्तुष्टि उत्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ तदर्थ समितिमा सात सय १० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । डेढ वर्षअघि नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरिएको थियो । देउवा आफैँ नेविसंघको अध्यक्ष भइसकेका हुन् । नेविसंघको इतिहासमा यति ठूलो कार्यसमिति गठन भएको थिएन ।

सबै समूहलाई समेट्न ७१० सदस्यीय जम्बो कार्यसमिति घोषणा भए पनि संस्थापनबाहेक कांग्रेसको शेखर–गगन समूह र सिटौला समूह असन्तुष्ट देखिएको छ । दुवै समूहले सहमतिअनुसार आफ्नो समूहबाट पठाइएको नाम संस्थापन समूहले मनोमानी ढंगले हटाएर आफूखुसी समिति घोषणा गरेको आरोप लगाएका छन् । नेविसंघमा लामो समय राजनीति गरेका र नेतृत्वमा आउने सम्भावना भएकालाई हटाएर तदर्थ समितिमा नाम घोषणा भएको दुवै समूहका नेताहरूले आरोप लगाएका छन् ।

डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका असन्तुष्ट विद्यार्थी नेताहरूले बुधबार नेविसंघको समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेका छन् । इतर निकट विद्यार्थी नेता विनोद शाही ठकुरीले संगठनमा लामो समयसम्म काम गरेकालाई पाखा लगाउने गरी समिति ल्याइएको दाबी गर्दै बुधबार २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघको समानान्तर समिति गठन गरेर अगाडि बढ्न लागेको बताए । ‘विधानविपरीत मनोमानी ढंगले कार्यसमिति बनाइयो । यसरी बनेको कार्यसमितिको कुनै औचित्य छैन । यस्तो स्वेच्छाचारी कदमविरुद्ध हामी विधानसम्मत समानान्तर केन्द्रीय समिति घोषणा गर्ने अभियानमा लागेका हौँ । कस्तो केन्द्रीय समिति बन्छ भेलाबाटै तय हुन्छ,’ उनले भने । 

असन्तुष्ट नेताहरूले नेतृत्व तहमा आउने सम्भावना भएकालाई पाखा लगाउने गरी संख्या पु¥याउन मात्र समिति घोषणा गरिएको आरोप लगाएका छन् । सिटौला समूहले पनि सहमतिअनुसार पठाइएको नाम समावेश नभएको जनाएको छ । यो समूह भने नेतृत्व तहमा सहमतिको प्रयास गर्ने र नभए कसरी अगाडि बढ्ने भन्ने ‘पर्ख र हेर’को रणनीतिमा छ । यसका लागि नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले मंगलबार नै पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गरेका छन् । नेतृत्वबाट समाधान हुने अवस्था नभए आवश्यक कदम चाल्ने उनले बताए । 

‘समिति आउँदा जेनिउन साथीहरू छुट्नुभयो । यत्रो संख्या विधानमा व्यवस्था भएअनुसार आएको होइन । तर, किन छुटाइयो ? नेविसंघको राजनीति गर्दा संस्थाका लागि काम गरेकाहरू जान नपाउने र फलानो दाइदिदी नभनी राजनीतिमा आउन नसक्ने अवस्था आउनु हुँदैन । यो गलत हो । यसरी सिन्डिकेट गर्न कम्युनिस्ट संगठन हो कांग्रेसको ? यसमा हाम्रो असहमति छ । यसबारे हामीले पार्टी सभापतिसँग भेटेर कुरा गरेका छौँ । नेतृत्व उत्पादनको नर्सरीमै समस्या आउन दिँदैनौँ । त्यसका लागि जे आवश्यक पर्छ त्यो कदम चाल्न हामी बाध्य हुनेछौँ,’ काफ्लेले भने । सिटौला समूहका विद्यार्थी नेताहरूका अनुसार सूचीमा रहेका दीपक ओझा, योगेन्द्र रावल, सुनिता बोहोरा, सुशील अधिकारी, निराजन शाहीलगायत २० भन्दा बढी नाम हटाइएको थियो । जसलाई सिटौला समूहले आफ्नो समूहबाट नेतृत्वका दाबेदारका रूपमा लिएको थियो । यस विषयमा सिटौला समूह छलफलमै छ ।

इतरको एक समूहले समानान्तर समिति बनाउने घोषणा गरे पनि यो समूहबाट कार्यसमितिमा मनोनीत भएका केन्द्रीय सदस्यहरू भने भेलामा सहभागी नहुने भएका छन् । केन्द्रीय सदस्य भुवन भट्टले भेलामा कार्यसमितिमा मनोनीत भएकाहरू सहभागी नहुने जानकारी दिए । संख्या बढाएर भए पनि सबैलाई समेटेर लैजानुपर्ने बताउँछन् । सबैलाई समेट्न नसक्दा असन्तुष्टि देखिएको र यसलाई नेतृत्वले संवादका माध्यमबाट समेटेर लैजानुपर्ने उनले बताए । 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा भन्छन्– आवश्यकता हेरेर समेट्छौँ, विरुद्ध गए क्षम्य हुँदैन
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समिति बनाउँदा सबैलाई समेट्न नसकिएको बताए । छुटेकाहरूलाई आवश्यकताअनुसार समेटेर लाने उनको भनाइ छ । शेर्पाले अबको गन्तव्य महाधिवेशन सम्पन्न गर्नेे भएको बताए । उनले समानान्तर समिति गठनजस्ता संस्थाको हितविपरीत गतिविधि भए क्षम्य नहुने चेतावनी दिए । ‘समिति बनाउँदा केही महत्वपूर्ण साथीहरू छुट्नुभएको छ । जसकारण केही असन्तुष्टि देखिएका छन् । तर, छुटेका साथीहरूलाई संगठनको आवश्यकताअनुसार समेटेर र आवश्यक जिम्मेवारी दिएर अगाडि बढ्छौँ । तदर्थ समितिले पूर्णता पाएपछि हाम्रा लागि एक भएर महाधिवेशन सम्पन्न गर्ने बाटोमा अगाडि बढ्ने समय हो । यस्तो अवस्थामा संगठनविरुद्ध गतिविधि भए क्षम्य हुँदैन,’ शेर्पाले भने ।

मुलुक समावेशिताको बाटोमा छ : देउवा 

कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक समावेशिताको बाटोमा अगाडि बढिरहेको बताएका छन् । मंगलबार लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले राजधानीमा गरेको कार्यक्रममा उनले सबैको अस्तित्वलाई स्वीकार गरेर जाने बाटोमा कांग्रेस रहेको बताए । देउवाले नेपाललाई प्राकृतिक रूपबाट मात्र नभई बहुसांस्कृतिक विशेषतालाई प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए । सांस्कृतिक सम्पदालाई विकास गरेर अन्तर्राष्ट्रिय रूपमा पहिचान बनाइनुपर्ने उनको भनाइ थियो । ‘कांग्रेसले सबैको देश हो भन्ने बनाउन समावेशी बनाउन काम गरिरहेको छ । पार्टीलाई पनि यसअनुसार अगाडि बढाएका छौँ । पार्टी पनि समावेशिताको बाटोमा गइरहेका छौं, राष्ट्रिय राजाीति पनि त्यो बाटोमा छ । यो देश सबैको हो यो पार्टी सबैको हो भन्ने बनाउनुछ,’ उनले भने ।

पार्टी महामन्त्री गगन थापाले कांग्रेसलाई गुनासो गर्ने छुट नभएको बताए । उनले सांस्कृतिक विविधता नेपालको पहिचान भएको बताए । थापाले आदिवासी जनजातिलगायतको समस्या समाधान गर्न संविधानको कार्यान्वयन, आवश्यक कानुन निर्माण र स्रोतसाधनको व्यवस्थापन कांग्रेसले नै गर्नुपर्ने उल्लेख गरे । उनले कांग्रेसले हाल तीनवटै सरकारको नेतृत्व गरिरहेकाले गुनासो गर्ने छुट नभएको पनि बताए ।

महामन्त्री थापाले कांग्रेसले अहिलेको अवस्थामा सक्ने काम गर्ने र आगामी निर्वाचनमा बाँकी कामका लागि मत माग्ने अवस्था बनाउन लाग्नुपर्ने बताए । ‘आज पनि कांग्रेस नेतृत्वमा गठबन्धन छ । प्रधानमन्त्री कांग्रेसले नै बनाएको हो । कांग्रेस नेतृत्वमा रहेको सरकार हो । हामी केन्द्रमा पनि छौँ । चार प्रदेशमा हाम्रो नेतृत्वमा सरकार छ । सबै प्रदेश सरकारमा सहभागी छौैँ । तीन सय ३२ वटा स्थानीय सरकारको प्रमुख छ । अब कांग्रेसलाई गुनासो गर्ने सुविधा छैन । जुन सरकारमा छौँ, कानुन बनाउन परे बनाउने हो । स्रोतसाधन छुट्याउनुपर्छ छुट्याउने हो । यो कामको नेतृत्व पनि अरू कसैले गर्दैन, कांग्रेसले नै गर्ने हो । संविधानको नेता पनि हामी हौँ, कार्यान्वयन गर्ने पनि हामीले नै हो,’ थापाले भने ।

See More On

सुझावित समाचार