मोरोक्कोको क्वार्टरफाइनल पुग्ने सपना अधुरो

पहिलो अफ्रिकन राष्ट्रका रूपमा क्वार्टरफाइनल पुग्ने लक्ष्य बनाएको मोरोक्को फ्रान्ससँग एकपक्षीय प्रिक्वार्टरफाइनलमा ४–० ले पराजित

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

दक्षिण अफ्रिकी टोली मोरोक्कोको फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने सपना अधुरो बनेको छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको विश्वकपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक प्रिक्वार्टरफाइनल स्थान बनाएको मोरोक्को मंगलबार फ्रान्सँग ४–० को एकपक्षीय रूपमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । मोरोक्को पहिलो अफ्रिकन महिला टोलीका रूपमा क्वार्टरफाइनल खेल्ने इतिहास बनाउने तयारीमा थियो । मोरोक्कोलाई नकआउट चरणबाट घर फर्काउनमा फ्रान्सकी इजेनिए ले सोमेरले दुई गोल गरेकी थिइन् । फ्रान्सले अब आगामी शनिबार सेमिफाइनल प्रवेशका लागि आयोजक अस्ट्रेलियाको सामना गर्नेछ । 

मोरोक्कोले पहिलो अरब राष्ट्रका रूपमा अन्तिम १६ मा स्थान बनाएको हो । समूह ‘एच’मा यस टोलीले सनसनी नतिजा निकालेको थियो । समूहको पहिलो खेलमा दुईपटकको विजेता जर्मनीबाट मोरोक्को ६–० ले पराजित भएको थियो । यस नतिजासँगै अफ्रिकन राष्ट्र सहजै पहिलो चरणबाटै बाहिरिने आकलन गरिएको थियो । तर, त्यसपछिका दुई खेलमा मोरोक्कोले सनसनी प्रदर्शन गर्‍यो । चालू विश्वकपमा मोरोक्कोको बलियो पक्ष नै दरिलो रक्षात्मक रणनीति थियो । 

तर, फ्रान्ससँगको प्रतिस्पर्धामा उनीहरूले यसलाई निरन्तरता दिन सकेनन् । फितलो रक्षापंक्ति र खेलाडीबीचको आपसी तालमेल मिलाउन नसक्दा फ्रान्सविरुद्धको खेलको पहिलो हाफमै ३–० ले पछि पर्‍यो । खेलको २५ मिनेटभित्र फ्रान्सले तीन गोल गरेको हो । प्रतिस्पर्धामा मोरोक्कोले एकपटक मात्र गोल गर्ने अवसर निकालेको थियो । 

फ्रान्सलाई मौका
फिफाको ६७औँ स्थानमा रहेको मोरोक्कोविरुद्ध फ्रान्सले आक्रामक रणनीति अपनाएको थियो । प्रशिक्षक हेर्भे रेनार्डको प्रशिक्षणमा रहेको फ्रान्सले ७५ प्रतिशत बल पोसेसन बनाएको थियो । एकपक्षीय प्रिक्वार्टरफाइनलमा फ्रान्सले १५ पटक सट प्रहार गरेको थियो । रक्षात्मक रणनीति बनाएको मोरोक्कोले केवल एकपटक मात्र फ्रान्सको पोस्टमा चार्ज गरेको थियो । फ्रान्सले पाँचपटक डिबक्सबाट गोलका लागि प्रयास गर्‍यो । महिला विश्वकपमा फ्रान्सको उत्कृष्ट नतिजा नै सन् २०११ मा चौथो स्थान प्राप्त गरेको हो । फ्रान्स लगातार चार संस्करणको क्वार्टरफाइनलमा पुगेको छ । विश्वकपमा शीर्ष १० वरीयताप्राप्त राष्ट्रहरू बाहिरिँदा फ्रान्सलाई अगाडि बढ्ने मौका छ । साबिक दुईपटकको विजेता अमेरिका, पूर्वविजेता जर्मनी, ब्राजिल तथा क्यानडा समूह चरणबाटै बाहिरिसकेका छन् । 

नौ मिनेटको अन्तरमा तीन गोल
फ्रान्सले पहिलो हाफमा केवल नौ मिनेटको अन्तरमा तीन गोल गरेपछि मोरोक्कोबाट खेल फुत्किएको हो । खेलको १५औँ मिनेटमा काडिया डिएनीले फ्रान्सलाई १–० को अग्रता दिलाइन् । उनले सकिनाको पासमा गोल गरेकी थिइन् । पहिलो गोल बेहोरेको अफ्रिकन टोली सम्हालिन नपाउँदै २०औँ मिनेटमा केन्जा डालीले फ्रान्सलाई २–० को अग्रता दिलाइन् । उनले डिएनीको पासमा गोल गरेकी हुन् । त्यसपछि खेलको २३औँ मिनेटमा सोमेरले डिएनीकै पासमा फ्रान्सलाई पहिलो हाफअगाडि नै ३–० को अग्रता दिलाइन् । खेलको ७०औँ मिनेटमा सोमेरले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्स ४–० ले अघि रह्यो । मोरोक्कोले मध्यान्तरपछि काउन्टर एट्याकमा फ्रान्समाथि दबाब राख्ने प्रयास गरेको थियो ।

कोलम्बिया अन्तिम आठमा
कोलम्बिया फिफा महिला विश्वकप २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ । मेलबर्नमा मंगलबार भएको खेलमा जमैकामाथि १–० को कठिन जित निकाली कोलम्बिया क्वार्टरफाइनलमा पुगेको हो । कप्तान क्याटालिनाले खेलको ५१औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेकी थिइन् । उनले रुजमनको पासमा गोल गरेकी हुन् । जमैकाले प्रतियोगितामा पहिलोपटक गोल बेहोरेको हो । यसै गोलका कारण जमैका प्रतियोगिताबाट बाहिरियो । समूह ‘एफ’मा जमैकाले चार अंक बटुल्दा एक गोल पनि खाएको थिएन । यसक्रममा जमैकाले फ्रान्स र ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो । पानामालाई १–० ले हराएर जमैकाले अन्तिम १६ मा स्थान बनाएको थियो ।

सुझावित समाचार