दोषी देखिए माओवादी वा अन्य कुनै पार्टीका कुनै नेतालाई छुट हुँदैन : गृहमन्त्री

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा दोषी देखिए कुनै पार्टीका कुनै नेता नछुट्ने स्पष्ट पारेका छन्। 

आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदले सुन प्रकरणमा माओवादी नेता मुछिएको, तर कारबाही नभएको सन्दर्भ उठाएपछि जवाफ दिएका गृहमन्त्रीले माओवादी नेता हुन् कि अरू कुनै पार्टीका नेता अनुसन्धानले दोषी देखिए नछुट्ने बताएका हुन्। 

‘माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन्। अनुसन्धानका तथ्य प्रमाणले दोषी देखाए भने कोही छुट्दैन, कोही उम्कन पाउँदैन,’ उनले भने, ‘सरकारले अहिले भइरहेका सबै प्रकरणका अनुसन्धानमा प्रहरीलाई दोषी नउम्किउन, निर्दोष नपरून भनेर स्पष्ट निर्देशन दिएको छ।’

बैठकमा एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले नौ किलो सुन तस्करीको छानबिन फाइल गृहमन्त्रीको टेबुलमा भएको भन्दै त्यो किन नखोलेको भनी प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्रीले कुनै पनि छानबिनको प्रतिवेदन गृहमन्त्रीको टेबलमा नहुने स्पष्ट पारे। ‘मेरो आत्मीय मित्रसमेत रहनुभएका सांसदले नौ भेपको फाइल त गृहमन्त्रीको टेबुलमा छ भन्नुभयो। म उहाँलाई प्रश्न गर्न चाहन्छु, प्रहरीको अनुसन्धान प्रतिवेदन गृहमन्त्रीको टेबलमा हुन्छ? कि पहिला सरकार चलाउँदा त्यस्तो चलन थियो?’ उनले अगाडि भने, ‘सरकारले सिआइबीलाई स्पष्ट निर्देशन दिएको छ, अनुसन्धानबाट जे देखिन्छ त्यो गर्नुस्। दोषीलाई हरहालतमा कारबाहाीको दायरामा ल्याउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुस्।’ 

उनले अहिलेको सुन तस्करीको घटनाको छानबिन गरी अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषी, तस्करलाई कारबाहीको दायरामा ल्याउनु सरकारको पहिलो कार्यभार भएको बताए। यस्तै, यस प्रकारको गतिविधि पुनरावृत्ति नहोस् भन्नका लागि विमानस्थलको सुरक्षालाई रिभ्यु सरकारको दोस्रो कार्यभार रहेको बताए। 

सुझावित समाचार