उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, कमिसनखोरी, तस्करी अन्त्य गरी सुशासन र समृद्धिको लागि राष्ट्रिय एकता कायम गर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभामा सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सुशासनको मुद्दामा राष्ट्रिय सहमति कायम गर्न आग्रह गरेका हुन्। ‘पोलिटिक्सलाई पोलिट्रिक्स बनाउन हुँदैन। राजनीतिलाई फोहोरीखेल नबनाऔँ। सुशासनको मुद्दामा राष्ट्रिय सहमति कायम गरौँ। भागबन्डा र खानेमा होइन, दण्डहीनता रोक्न, यसमा संलग्न राजनीतिक नेताहरूलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय सहमति कायम गरौँ भन्ने म विशेष अनुरोध गर्न चाहन्छु,’ उनले भने।
उनले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सिआइबीले गरिरहेको भन्दै उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताए। उनले यसअघिका घटनाको दृष्टान्त दिँदै राज्यको संयन्त्रमाथि विश्वास गर्न आग्रह गरे।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा एउटा छानबिन समिति बनेको थियो। छानबिन समितिले ०७० देखि ०७४ सम्ममा सात हजार ९ सय ९९ किलो सुन नेपाल भित्रियो भन्ने थियो। पछिल्लो अनुसन्धान ३३ किलो सुनमा केन्द्रित गरियो। तर, एक तोला सुन पनि भेटिएन,’ उनले भने, ‘पछिल्लो सुन तस्करी हेर्दा नेपाललाई संगठित अपराधको केन्द्र बनाएको देखिएको छ। यसअघि सुन काण्डमा संसदीय समिति बनाएको पनि हामीले हेर्याैँ। त्यो निरर्थक बन्यो। प्रतिवेदन कुनै कार्यान्वयन भएन। सरकारले ३३ किलो सुनको अनुसन्धान गर्न नदिएर छानबिन समिति बनाएको थियो। त्यसले एक ग्राम सुन पनि पत्ता लगाउन सकेन। त्यसकारण उच्चस्तरीय छानबिन समिति बनाएर राज्यको प्रविधि, उपकरणयुक्त संयन्त्रलाई नै दिनुपर्छ। यसमा हामी सबैले विश्वास गर्नुपर्छ।’