उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन सरकारको पूर्वसर्त रहेको बताएका छन्। एक क्विन्टल सुन तस्करी सम्बन्धमा भइरहेको अनुसन्धानलगायत प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले सुशासन स्थापनाकै लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताए।
ठूलो राजनीतिक परिवर्तनपछि पनि जनताले परिवर्तनको गुणात्मक प्रतिफल पाउन नसकेको भन्दै उनले त्यसको मुख्य कारण भ्रष्टाचार, कमिसनखोरी, दण्डहीनता नै रहेको बताए।
‘सामाजिक आर्थिक रूपान्तरण, समृद्धि र जनताले नयाँ जीवन पाउने अवस्था किन बनेन भनेर हामीले खोज्दै जाँदा यत्रो राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचार, कमिनसनखोरी, दण्डहीनता, तस्करी, कालोबजारी, ठगी, किर्तेको जालोको कारण यो देशलाई समृद्धिको यात्रामा गुणात्मक फड्कोमा अगाडि बढाउन सकिएन भन्ने निष्कर्ष निकाल्यौँ र सरकार सुशासन कायम गराउन प्रतिबद्ध भएर लागेको छ,’ उनले भने।
गृहमन्त्री श्रेष्ठले समृद्धिका लागि सुशासन पूर्वसर्त बनाएर निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले भने, ‘सुशासन नै सरकारको पूर्वसर्त हो। सुशासन स्थापना नगरेसम्म राजनीतिक परिवर्तनलाई साधन बनाएर नयाँ जीवनको अनुभूति पायौँ भन्ने अवस्थामा पुग्न सक्दैनौँ। यसैलाई आधार बनाएर सरकार अगाडि बढिरहेको छ।’