अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ। धनगढी उपमहानगरपालिका– ९ भैँसीघाटमा रहेको एउटा सीमास्तम्भ बाढी कटानले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार ७४८/३ नम्बरको सीमास्तम्भ मोहनाको बाढीले बगाएको हो। उक्त सीमास्तम्भ मोहना नदी कटानको जोखिममा थियो। नदी कटानले बग्ने जोखिम भएपछि यसअघि त्यहाँ बोरामा बालुवा राखेर सीमास्तम्भको वरिपरि राखिएको थियो।
वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारीले सीमास्तम्भ बग्ने जोखिम भए पनि संरक्षणमा कुनै निकायले चासो नदिएको बताए। सरोकारवाला निकायले चासो नदिएपछि जलस्राेत कार्यालयसँग बोरा मागेर सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको समन्वयमा केही समयअघि उक्त सीमास्तम्भनजिक जैविक तटबन्ध बनाए पनि अहिले बाढीले बगाएको उनले बताए।