नेपाल लाइफको ‘बिजनेस एक्सेलेन्स कन्फरेन्स’

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सेलेन्स कन्फरेन्स सम्पन्न भएको छ । कन्फरेन्स ‘पराक्रमी गति, आक्रामक नीति’ भन्ने नाराका साथ चितवनको सौराहामा भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत दुई सय ३० भन्दा बढी कर्मचारीको सहभागिता रहेको जनाइएको छ ।

सम्मेलनमा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीका बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएको बताए । यसका लागि सम्पूर्ण कर्मचारीलाई उनले धन्यवाद दिएका थिए । आगामी दिन थप चुनौतीपूर्ण हुने सम्भावना देखिएको भन्दै उनले थप जोस र जाँगरका साथ कार्यसम्पादन गर्न आग्रह गरे । अग्रवालले सेल्स टेक्निकका साथै चाहिने कम्युनिकेसन स्किल टेक्निकबारे प्रकाश पारेका थिए । 

अर्का सञ्चालक कृष्णराज लामिछानेले हरेक मान्छेले आफ्नो भ्यालु क्रिएसनमा जोड दिनुपर्ने बताए । मान्छेले राप र तापमा आफूलाई अभ्यस्त बनाउँदा व्यावसायिक सीप पनि निखारिनुका साथै परिपक्व बनाउने उनको भनाइ थियो । सञ्चालक शक्तिकुमार गोल्यानले कर्मचारीको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने बताए । आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पूर्वतयारी गरी कार्यसम्पादन गर्न उनले आग्रह गरे । प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम–कारबाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको उनको भनाइ थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारीलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद दिँदै चालू आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरेका थिए । उनले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष ०८०/८१ मा सेल्स रणनीतिबारे सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत प्रादेशिक प्रमुखलगायत प्रधान कार्यालयका विभागीय प्रमुखले सम्मेलनमा आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मेलनको समाप्तिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेललगायतले सहभागीलाई प्रमाणपत्र साथै आव ०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरेका थिए । 

सुझावित समाचार