रुसविरुद्ध युक्रेनको प्रत्याक्रमण असफल भएकै हो ?

प्रत्याक्रमणका क्रममा नष्ट भएका हतियार र सशस्त्र सवारीसाधनको सटिक संख्या र मर्मत गर्न सकिने वाहनको संख्या गोप्य राखिएको छ

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

युक्रेनले रुसविरुद्ध सुरु गरेको भीषण प्रत्याक्रमणको पहिलो दुई हप्तामा युद्धक्षेत्रमा पठाएको २० प्रतिशत हतियार गुमाएको अमेरिकी र युरोपेली अधिकारीले बताए । तिनका अनुसार युक्रेनले गुमाएका हतियारमा पश्चिमले दिएको शक्तिशाली तोप र बख्तरबन्द गाडीसमेत समावेश छन् । तिनको प्रयोगबाट युक्रेन रुसमाथि हाबी हुने आशा गरिएको थियो । ठूलो क्षति भएपछि युक्रेन उसको रणनीति बदल्न बाध्य भयो । रणनीति बदलेपछि युक्रेनले रुसी सेनाको बारुदी सुरुङ ओछ्याइको क्षेत्रमा सीधै जाइलाग्नुभन्दा क्षेप्यास्त्र र तोपगोलामार्फत शत्रुलाई गलाउने नीति लिएको छ । यसले प्रारम्भिक दिनको युक्रेनी क्षतिलाई १० प्रतिशतमा झारेको अधिकारीले बताएका छन् । 

क्षति घटेको भए पनि यसले युक्रेनी फौजको एक निराशाजनक वास्तविकतालाई उजागर गरिदिएको छ । पश्चिमको समेत साथ–सहयोगमा लामो तयारीपछि फेब्रुअरीबाट सुरु भएको युक्रेनी प्रत्याक्रमण रुसको बलियो प्रतिरक्षासँग संघर्ष गरिरहेको छ । युक्रेनले यस प्रत्याक्रमणबाट दक्षिणतर्फ रुसी कब्जामा रहेको अजोभ समुद्रसम्म पुग्ने र रुसी सेनालाई दुई भागमा विभाजित गर्ने लक्ष्य लिएको थियो । तर, प्रारम्भिक लक्ष्यअनुसार युक्रेनी फौजले नियन्त्रण लिनुपर्ने ६० माइलमध्ये जम्मा पाँच माइल मात्र कब्जामा लिन सफल भएको छ । 

एक युक्रेनी सिपाहीको युनिटले खिचेको भिडियो फुटेजमा भेल्यिका नोभोसिल्का सहरको दक्षिणमा आधा दर्जन पश्चिमी बख्तरबन्द गाडी रुसी आक्रमणमा नष्ट भएको देखिएको छ । ‘ती सबै जलेका थिए,’ आफूलाई सार्जेन्ट भनी चिनाउने ती सिपाहीले भने । युक्रेनले प्रत्याक्रमणको तयारीमा धेरै समय लगाएकाले यस अवधिलाई रुसले त्यसको प्रतिरक्षाको तयारी गर्ने पर्याप्त समय पायो ।

अहिले युद्धको अग्रभाग रुसी बारुदी सुरुङ, तोपका पासो र सैन्य ट्रेन्च (लुक्ने खाडल)ले भरिएको छ । र, यस भेगमा रुसी निगरानी ड्रोन र आक्रमणकारी हेलिकोप्टरले नियमित गस्ती गरिरहेका हुन्छन् । यस्तो स्थितिमा युक्रेनले अपेक्षाकृत ठूलो नोक्सानी व्यहोर्नु स्वाभाविक भएको सैन्यविज्ञहरू बताउँछन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्वयंले केहीअघि प्रत्याक्रमण अभियानमा अवरोध आएको स्वीकार गरे, तर त्यसका लागि हतियारको अभावलाई दोष दिए । उनले यस स्थिति सुधारका लागि पश्चिमी सहयोगी मुलुकले हतियार आपूर्तिको गति तीव्र बनाउनुपर्ने बताए ।

रुसविरुद्धको प्रत्याक्रमण अभियानको सुरुवातमा युक्रेनले झन्डै २० प्रतिशत हतियार र कवच गुमायो । त्यसैले, युक्रेनी कमान्डरहरू यस अभियानलाई केही समय रोकेर रणनीति परिवर्तन गर्न बाध्य भएका छन् । 

युक्रेनको प्रमुख सहयोगी राष्ट्र अमेरिकाका अधिकारीले प्रत्याक्रमण बीचमा रोकिएर पुनः सुरु भएको बताए । पछिल्लो समय युक्रेनी सेनाले हताहतीको जोखिमलाई ध्यानमा राख्दै बारुदी सुरुङ पहिचानमा जोड दिएको पनि तिनले बताए । अमेरिकाले दिएको क्लस्टर बमले युक्रेनी फौजलाई गति दिएको तिनले बताए । ‘अहिलेको गति त्यति छिटो छैन, तर पनि यो समयतालिकाभन्दा धेरै पछाडि पनि छैन,’ युक्रेनको अर्को सहयोगी मुलुक बेलायतका रक्षामन्त्री बेन वालेसले भने । 

समस्या मुख्यतः दक्षिणी युक्रेनको खेत र मैदानमा देखिएको छ, जहाँ प्रत्याक्रमणको मुख्य लडाइँ लडिँदै छ । त्यहाँ युक्रेन फौजले पहिलेदेखि चाहेको अमेरिकी बख्तरबन्द गाडी ‘ब्राडली फाइटिङ भेहिकल’ दैनिक रूपमा एन्टी–ट्यांक माइनको पासोमा पर्ने गरेका छन् । करिब ३४ टन तौल भएको यस सवारीसाधन गोलीबारी भइरहने क्षेत्रमा सिपाहीको ओसारपसार गर्ने हिसाबले डिजाइन गरिएको छ । यसको पछाडिको भागबाट सैनिकहरू निस्कन सक्छन् । प्रत्याक्रमणको योजना बनाउँदा यस वाहनले सिपाहीलाई खुला मैदानबाट बचाउँदै रुसी सैनिक लुकेर बसेको खाडल र बंकरमा पुर्याउने र युद्धमा महत्वपूर्ण सहयोग गर्ने लक्ष्य थियो । ब्राडलीले कैयौँ अवस्थामा यो लक्ष्य राम्ररी पूरा गर्यो पनि । तिनको बाक्लो बनावटले धेरै सिपाहीलाई बारुदी सुरुङको विस्फोटबाट सुरक्षा प्रदान गरी बचाएको छ ।

‘यो वाहनले बारुदी सुरुङ टेकेपछि हुने विस्फोटले तपाईंको कान नै टिन्न पार्छ र भित्रका सामान उडेर यत्रतत्र छरिन्छन्,’ आफ्नो पहिलो नाम र पद मात्र उल्लेख गर्न आग्रह गरेका प्राइभेट सेरहिय नामका सिपाहीले भने । उनी गत महिना जापोरिझिया क्षेत्रको ओरिखिभ सहरको दक्षिणी भागमा भएको लडाइँमा यस्तै विस्फोटमा परेका थिए । तर, पहिले अपेक्षा गरिएभन्दा धेरै अवस्थामा विस्फोटले सवारीसाधनलाई नराम्ररी क्षति पुर्याएको छ, जसले ती वाहन रुसी अग्रमोर्चामा पुग्नुअघि नै प्रयोगहीन हुने गरेका छन् । सैन्यविज्ञले पहिलेदेखि नै प्रत्याक्रमणको पहिलो १६ माइल सबैभन्दा कठिन हुने बताएका थिए । आक्रमणकारी सेनालाई यस क्षेत्रमा रक्षात्मक फौजलाई भन्दा सामान्यतया तीन गुणा बढी शक्ति चाहिन्छ, चाहे त्यो हतियारमा होस् या सैन्यफौज वा दुवैमा ।

युक्रेनका शीर्ष सैन्य अधिकृत जनरल भ्यालेरी जालुज्नीले युक्रेनले अमेरिकाको एफ–१६ जस्तो लडाकु विमानविनै लडिरहेको कुरामा निराशा व्यक्त गरे । अमेरिकाले केहीअघिबाट युक्रेनी पाइलटलाई एफ–१६ लडाकु विमानको तालिम दिन अनुमति दिएको छ । तथापि यो वाहन युक्रेनले हात पार्न अझै धेरै महिना लाग्नेछ । लडाकु विमान नहुँदा युक्रेनी सेनाहरू रुसी हेलिकोप्टर र तोपखानाको निसानामा पर्ने गरेका छन् । यी सबका बाबजुद अहिले नै प्रत्याक्रमणबारे निश्चित निष्कर्ष निकाल्न धेरै चाँडो हुने सैन्य विश्लेषकले चेतावनी दिएका छन् । युरोपियन काउन्सिल अन फरेन रिलेसनका रक्षा विशेषज्ञ र नेटोका पूर्वसहायक महासचिव क्यामिल ग्य्रान्डको पनि यस्तै विचार छ । तथापि पश्चिम लडाकु विमानले प्रदान गर्न सक्ने वायु श्रेष्ठता र वायु प्रतिरक्षाको अभावले अन्य परम्परागत द्वन्द्वका तुलनामा युक्रेनमा हताहत दर बढी हुने सम्भावना रहेको ग्य्रान्डले बताए ।

प्रत्याक्रमणका क्रममा नष्ट भएका हतियार र सशस्त्र सवारीसाधनको सटिक संख्या र मर्मत गर्न सकिने वाहनको संख्या गोप्य राखिएको छ । तथापि उपलब्ध खुला स्रोतका तथ्यांक र आधिकारिक अनुमानको संयोजनले केही चित्र प्रस्तुत गर्छ । प्रत्याक्रमण अभियानको सुरुमा तैनाथ गरिएका तीनवटा पश्चिम हतियार सुसज्जित र प्रशिक्षित एकाइमध्ये एक युक्रेनको ४७औँ ब्रिगेडले फेब्रुअरीदेखि सुरु हुने अभियानका लागि ९९ ब्राडली वाहन प्राप्त गर्ने योजना रहेको लिक भएको अमेरिकी सैन्य योजनामा उल्लेख थियो । 

भिडियो र तस्बिरमार्फत सैन्य क्षतिको गणना गर्ने सैन्य विश्लेषण साइट ओरिक्सको तथ्यांकअनुसार जुलाईको मध्यसम्म २८ ब्राडली परित्याग गरिएको, क्षतिग्रस्त भएको वा पूर्ण नष्ट भएका छन् । जुन ८ र ९ को दिन जापोरिझिया प्रान्तको एउटा गाउँमा ४७औँ ब्रिगेड बारुदी सुरुङमा फसेका वेला हेलिकोप्टरबाट भएको आक्रमणमा मात्रै १५ वाहन नष्ट भएको साइटले उल्लेख गरेको छ । थप ६ वटा ब्राडली जुन २६ मा माला तोक्माच्कामा परित्याग वा नष्ट भएको थियो । ओरिक्स अनुसन्धानकर्ताले माला तोक्माच्काको क्षति पहिले नै भएको हुन सक्ने तथापि यकिन मिति स्पष्ट नभएको बताए ।

४७औँ ब्रिगेड मात्र सुरुमा ब्राडलीहरू प्राप्त गर्न छनोट गरिएका आधारमा यसलाई दिइएका बख्तरबन्द सवारीसाधनको लगभग एकतिहाइ प्रयोगहीन भएको देखिन्छ । तिनमा सातबाहेक सबै एउटै युद्धभूमिमा क्षतिग्रस्त भएका थिए । बेलायती सुरक्षा गुप्तचर फर्म जेन्सका विश्लेषक डिलन ली लेहर्कका अनुसार यति ठूलो क्षतिले रुस युक्रेनी पक्षमा ठूलो क्षति पुर्याउने र थकाउने रणनीतिमा लागेको संकेत भएको बताए । ओरिक्सको तथ्यांकले जुन महिनामा मात्रै २४ वटा तोप हराएको देखाउँछ, जसमा युक्रेनको आफ्नै तोप र पश्चिमले सहायोगमा दिएका दुवै पर्छन् । तीमध्ये १० वटा जर्मन–निर्मित लिओपार्ड ट्यांक र बारुदी सुरुङ हटाउने वाहन पनि रहेको तथ्यांकले देखाउँछ । 

सम्भवतः ती वाहन युक्रेनको ३३औँ ब्रिगेड संलग्न युद्धमा नष्ट भएका थिए, जुन ब्रिगेड प्रत्याक्रमणको सुरुमै तैनाथ गरिएका तीन एकाइमध्ये एक थियो । फेब्रुअरी २८ को अमेरिकी युद्ध योजना कागजातमा युक्रेनको ३३औँ ब्रिगेडले ३२ वटा लियोपार्ड प्राप्त गर्ने भनिएको थियो । यसको मतलब यस ब्रिगेडले पाएका ३० प्रतिशत जर्मन तोप गुमायो । ओरिक्सको तथ्यांकले दुईबाहेक सबै तोप लडाइँको पहिलो हप्तामै क्षतिग्रस्त भएको देखाउँछ । 

युक्रेनी अधिकारीले तिनको सेनाले डोनेत्स्क क्षेत्रको दक्षिणी क्षेत्रमा अहिलेसम्म सबैभन्दा बढी प्रगति गरेको बताएका छन् । तर, त्यहाँ पनि भेल्याका नोभोसिल्काको पहिलेको अग्रमोर्चाबाट जम्मा पाँच माइलभित्र मात्र सेना पुग्न सकेको छ । प्रत्याक्रणमको प्राथमिक लक्ष्यअनुसार एजोभ सागरमा पुग्न अर्को ५५ माइल पार गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकिए रुस र क्रिमियाबीचको भूसेतु कट्ने लक्ष्य थियो । जुन लक्ष्य हासिल भएको भए रुसको पहिले नै अस्थिर रसद आपूर्तिमा धक्का लाग्ने थियो । युक्रेनका सेनाहरू जापोरिझियाका दुई क्षेत्रमा मात्र अगाडि बढिरहेका छन् । दुईमध्ये ओरिखिब क्षेत्रमा प्रगति थप सुस्त छ । यस भेगमा विनाकभर ब्राडले र लियोपार्डको ठूलो संख्यालाई खुला मैदानमा पठाइएको भए पनि युक्रेनी सेना करिब एक माइल मात्र अगाडि बढ्न सकेको छ ।
– न्युयोर्क टाइम्सबाट

See More On

सुझावित समाचार