सिद्धार्थ राजमार्गको सिद्धबाबास्थित निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि आज बिहानैदेखि राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका– ३ मा माथिबाट लेदोसहितको पहिरो खसिरहेको प्रहरीले जनाएको छ ।
सुरुङ निर्माणस्थल भएकाले आवश्यक सामग्री पहिरोस्थलमै भएको र पानी रोकिना साथ पहिरो पन्छाउने काम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, बाग्लुङ, अर्घाखाँची, कास्कीलगायतका जिल्लामा आउने तथा जाने सवारी बाटोमै रोकिएका छन् ।