केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसमा विवाद छताछुल्ल, महिला संघको विवादमा देउवा–कोइराला आमनेसामने

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण
केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसमा विवाद छताछुल्ल, महिला संघको विवादमा देउवा–कोइराला आमनेसामने

महिला संघ अध्यक्षलाई बर्खास्त गर्न माग गर्दै महिला संघको इतर समूहले सोमबार गरेको पत्रकार सम्मेलन

देउवानिकट अध्यक्ष उषा राउत मिश्रले १२ जिल्ला अध्यक्ष बर्खास्त गरेपछि मिश्रलाई नै बर्खास्त गर्न इतर समूहको अल्टिमेटम, कोइरालाकै निर्देशनमा समानान्तर समितिको तयारी

केन्द्रीय समिति बैठकपछि पार्टी एकढिक्का भएर अघि बढ्ने विश्वास गरिएकोमा नेपाल महिला संघका कारण कांग्रेसमा विवाद छताछुल्ल भएको छ । केन्द्रीय समिति बैठक सकिएको दुई साता नबित्दै भ्रातृसंस्था महिला संघको विवादमा सभापति शेरबहादुर देउवा र शेखर–गगन आमनेसामने भएका छन् । 

सोमबार महिला संघका इतर निकट २० केन्द्रीय सदस्यले अध्यक्ष उषा राउत मिश्रलाई बर्खास्त गर्न माग गरे । असन्तुष्ट केन्द्रीय सदस्यहरूले गौशालामा पत्रकार सम्मेलन गरी मिश्रले विधानविपरीत अधिवेशनबाट निर्वाचित १२ जिल्लाका अध्यक्षलाई बर्खास्त गरेर मनोमानी ढंगले नयाँ नेतृत्व चयन गरेको भन्दै विरोध जनाए । संस्थापन इतर समूहले सभापति देउवानिकट अध्यक्ष मिश्रलाई तीन दिनभित्र विधानविपरीतका काम सच्याउन अल्टिमेटमसमेत दिएको छ । तीन दिनभित्र बर्खास्त गरिएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरिए समानान्तर कमिटी गठन गरेर गतिविधि अघि बढाउने तयारी रहेको जानकारी गराइयो । 

मेरो काम देखेर उहाँहरू अत्तालिनुभयो : उषा राउत मिश्र अध्यक्ष, महिला संघ

पार्टी पदाधिकारीदेखि जिल्लामा सबैको सहमति गराएर नयाँ नेतृत्व चयन गरेको हो । म आफैँ महिला संघको विधान बनाउन लागेको मान्छे हुँ । त्यसैले विधानविपरीत जाने भन्ने कुरै छैन । उहाँहरू मैले गरेको काम देखेर अत्तालिनुभयो । हामी काममा विश्वास गछौँ । उहाँहरू फोटोमा विश्वास गर्नुहुन्छ । गलत गरेको भए तीन दिन धेरै ढिला हुन्छ, तीन मिनेट पनि मलाई नराखे हुन्छ ।

‘कांग्रेसको संगठन सुदृढीकरण अभियान चलिरहेका वेला पार्टी संगठनलाई चुस्त बनाउनुको साटोे महिला संघमा विग्रह ल्याएर पार्टीको अभियानलाई कमजोर पार्ने षड्यन्त्र थालिनु दुःखद विषय हो । कांग्रेसको यो अभियानलाई असफल पार्ने नियतका साथ नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले गरेका यस्ता हर्कत तत्काल बन्द गर्न माग गर्दर्छौँ । साथै, पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेका वेला पार्टीभित्र विग्रह निम्त्याउने महिला संघ अध्यक्ष उषा राउत मिश्रलाई तत्काल बर्खास्त गर्न माग गर्दछौँ,’ इतर समूहको विज्ञप्तिमा भनिएको छ ।

संघमा इतर समूहका केन्द्रीय सदस्यहरूका अनुसार नेता डा. शेखर कोइरालाले नै महिला संघमा आफ्नो समूहलाई बेवास्ता गरेर जाने अवस्था आए समानान्तर गतिविधिको विकल्पमा जान तयार हुन निर्देशन दिएका छन् । कोइरालाको यस्तो निर्देशनसँगै नेतृहरू ‘मुभ’ भएको संघकी एक केन्द्रीय सदस्यले बताइन् । नेतृहरूसँगको भेटमा कोइरालाले पार्टीभित्र अराजकता बढेको र त्यसको छायाँ संघमा पनि देखिएकाले आफ्नो समूहलाई न्याय दिलाउन समानान्तर गतिविधिसम्मको तयारी गर्न भनेका थिए । ‘संगठनमा विधि र विधान पालना गर्नुपर्छ । तर, त्यस्तो हुन सकेन । अराजकता बढ्यो, विधानविपरीत जाने छुट कसैलाई छैन । यस्तै अवस्था रहे केन्द्रदेखि जिल्ला तहसम्म महिला संघको समानान्तर समिति बनाउने गरी तयारीमा जुट्नु,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भनिन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य रीता शाहीले महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद भएको बताइन् । ‘पार्टीलाई एकढिक्का बनाएर संगठन सुदृढीकरण अभियान सञ्चालन भइरहेका वेला विग्रह निम्याउन खोज्ने अध्यक्षलाई तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भनिन् । केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी दिइन् । ‘अध्यक्षज्यूलाई सच्चिने मौका दिएका छौँ, नसच्चिए सबै जिल्लामा समानान्तर समिति गठन गरेर जान्छौँ,’ उनले भनिन् । केन्द्रीय सदस्य छाया सुनारले केन्द्रीय समितिको बैठक नै नबसी अध्यक्षले एकलौटी गतिविधि गरेको आरोप लगाइन् । 

उनीहरूले सोलुखुम्बु अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्सा अध्यक्ष विद्या श्रेष्ठ, सिराहा अध्यक्ष विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, इलाम अध्यक्ष निर्मला सञ्जेल, महोत्तरी अध्यक्ष विना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा अध्यक्ष सुशीला ढकाल र हुम्ला अध्यक्ष विजया बुढालाई मनोमानी ढंगले बर्खास्त गरिएको भन्दै पुनर्बहाली गर्न माग गरेका छन् । विधानअनुसार संस्था चलाउन, केन्द्रीय समितिको बैठक तत्काल बोलाउन, विधानसम्मत गठन नभएका समिति र उपसमिति खारेज गर्न र विधानअनुसार सदस्यता वितरण गर्नुपर्ने असन्तुष्टहरूको माग छ ।

सात वर्षदेखि हुन सकेन महाधिवेशन
०७३ पछि महिला संघको महाधिवेशन हुनसकेको छैन । महाधिवेशन नहुँदा उमा रेग्मी अध्यक्ष बनेकी थिइन् । पार्टी जिम्मेवारीमा पुगेपछि पनि उनले लामो समयसम्म संघमै जिम्मेवारी सम्हालेकी थिइन् । गत वर्ष २६ साउनमा उषा राउत मिश्रलाई तदर्थ समितिको संयोजक तोकिएको थियो । गत ३० जेठमा मात्रै ५२ जना केन्द्रीय सदस्य मनोनीत गरिएका थिए । मनोनयनका विषयमा इतर समूहको कुनै आपत्ति थिएन । तर, सोमबार महिला संघको विवाद सतहमा आयो । 

विरोध गर्नेहरूमा केन्द्रीय सदस्यहरू चन्दा जोशी, रीता शाही, नवोदिता चौधरी, उमा सिवाकोटी, सुष्मा घिमिरे तिवारी, रमा अर्याल, तारा थपलिया, डा. अमिता प्रधान, गीताकुमारी गुरुङ, छाया सुनार, पार्वती आचार्य, भगवती केसी, पार्वती चन्द, मीरा चन्द, राधा कुँवर, रञ्जिता गिरी, लक्ष्मी बाराकोटी प्रसाईं, लीलाकुमारी नेपाल, मनीषा भेटवाल र डा. सीता घिमिरे छन् । उनीहरूले यस विषयमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीसहितका पार्टी पदाधिकारीको ध्यानाकर्षण गराइएको जनाएका छन् । 

सुझावित समाचार