सोमबारदेखि परिरहेको अविरल वर्षाका कारण पहिरो खस्दा प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने दुईवटा सडकखण्ड अवरुद्ध भएका छन् ।
पहिरोका कारण हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–काठमाडाैं सडक अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पहिरोका कारण मकवानपुरको बकैया गाउँपालिका– ११ लामराङस्थित कान्ति लोकपथ सडकखण्डमा पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको छ । सोमबार राति खसेको पहिरोका कारण उक्त सडकखण्ड भएर चल्ने सवारी आवागमनमा समस्या भएको छ ।
यस्तै हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका2 २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्ड अवरुद्ध भएको छ । यसमार्गअन्तर्गत भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सवारीसाधन पहिरोका कारण अवरुद्ध भएका छन् ।
दुवै मार्ग खुलाउन सडक विभागसँग समन्वय भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए । लगातारको वर्षाका कारण तत्काल बाटो खुलाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । पानी पर्न कम हुनासाथ दुवै मार्ग खुलाउने कार्य हुने प्रवक्ता कार्कीले बताए ।