सय किलो सुन तस्करी छानबिनको विषयलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ एमाले सांसदहरू आफ्नो स्थानबाट उठेका थिए।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ। बैठकको सुरुमा बोल्दै सांसद दिलकुमारी रावल थापा पार्वतीले उक्त घटनाले नेपालको सुरक्षा अवस्था उदांगो भएको बताइन्। यस्तो परिस्थितिमा समेत सरकार गम्भीर नभएको उनको आरोप थियो।
‘यस्तो परिस्थितिमा पनि वर्तमान गठबन्धन सरकार संवेदनशील बनेको देखिँदैन। सुन काण्डको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको मागसहित नेकपा एमालेले सदन अवरुद्ध गरिरहेको छ,’ रावलले भनिन्।