आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुर महानगरपालिकामा पाँच दिनका लागि विद्यालय बिदा दिएको छ।
आँखा पाक्ने रोग (एडिनो भाइरस)को संक्रमणको असर विद्यालयमा समेत देखिएको र विशेषज्ञको परामर्शसमेतको आधारमा २२ साउनदेखि २६ गतेसम्म पाँच दिन विद्यालय बन्द गर्ने निर्णय भएको हो।
महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालका अनुसार भरतपुर महानगरभित्र पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू, बालविकास केन्द्रहरू तथा मन्टेस्वरी, किन्डर गार्डन बन्द गर्न भनिएको छ।
पछिल्लो केही दिनयता भरतपुर आँखा अस्पतालमा बिरामीको संख्या पनि बढेको छ। यो संक्रमण भइसकेपछि सुरुमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन्।
कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ। चिकित्सकहरूले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन्। यस्तै, चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ।