माओवादी केन्द्रीय समिति बैठक सम्पन्न : तीनमहिने रूपान्तरण अभियान चलाइने

केन्द्रीय समिति बैठक सम्पन्न गर्दै अध्यक्ष प्रचण्डले भने– देशको नेतृत्व लिने गरी माओवादी अघि बढ्नेछ

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

सत्तारूढ माओवादीले प्रत्येक नेता जनतासँग प्रत्यक्ष जोडिने गरी तीनमहिने रूपान्तरण अभियान चलाउने भएको छ । राजधानीको प्रज्ञा भवनमा आइतबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ नामको तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अभियानसहित जनतामा जाने निष्कर्ष सुनाए । ‘जनतासँग माओवादी र विशेष रूपान्तरण अभियान चलाउने निष्कर्षमा पुगेका छौँ । यसक्रममा पार्टीका सबै लिडर वडाकेन्द्रित भएर जनतासँग जोडिनुहुनेछ र जनताका समस्या समाधान गर्न पहल लिनुहुनेछ । ६ हजार सात सयभन्दा बढी वडामा केन्द्रित भएर तीनमहिने अभियान चलाउने सर्वसम्मत निष्कर्षमा पुगेका छौँ,’ उनले भने । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्ड पनि सातवटै प्रदेशका सातवटा वडामा खटिने भएका छन् । अभियानअन्तर्गत देशव्यापी रूपमा कुनै पनि घरपरिवार नछुट्ने गरी जनतामाझ जाने प्रचण्डले बताए । 

‘मेरोसमेत कार्यविभाजन भएको छ । म पनि सातवटा प्रदेशका सातवटा वडामा गएर त्यहाँका जनताको भावना, समस्या बुझ्ने र सबै केन्द्रीय लिडर वडाकेन्द्रित भएर जनअभियान चलाउने निष्कर्षमा पुगेका छौँ,’ प्रचण्डले भने, ‘हामीले यो अभियानअन्तर्गत एउटा पनि जनताको घर नछाड्ने, सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले लिँदै गरेको पहलबारे सुसूचित गर्ने, जनतालाई आगामी दिनमा कसरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई कसरी अगाडि बढाउने भन्नेबारे हाम्रा योजना सुनाउने, जनताका गुनासा, आलोचना सुन्ने तथा सहिद, बेपत्ता, घाइते परिवारसँग भेट्ने काम हुनेछ ।’ पार्टी वैचारिक र राजनीतिक रूपमा मात्रै नभई भावनात्मक रूपमा पनि एक भएको दाबी गर्दै प्रचण्डले विधि, पद्धतिभन्दा बाहिर पार्टी सञ्चालन नगरिने बताए । 

 नेताहरूको जिम्मेवारी हेरफेर
केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई समाजवादी मोर्चा, पार्टी एकता, उपाध्यक्ष अग्नि सापकोटालाई प्रचार, उपाध्यक्ष पम्फा भुसाललाई जनवर्गीय संगठनको इन्चार्जको जिम्मा दिइएको छ । कोसी प्रदेशमा चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमती प्रदेशमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशमा हितमान शाक्य, कर्णाली प्रदेशमा मातृका यादव, सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । वर्षमान पुनलाई उपत्यका विशेष प्रदेशको जिम्मेवारी दिइएको छ । गिरिराजमणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश, राम कार्कीलाई प्रवास प्रदेश, गणेश साहलाई विज्ञान प्रविधि र दीनानाथ शर्मालाई बुद्धिजीवी फाँटको जिम्मेवारी दिइएको छ ।

 यस्ता छन् माओवादी निर्णय
बैठकले खडेरीका कारण ठूलो भागमा धान रोपाइँ हुन नसकेको भन्दै सुक्खा क्षेत्र घोषणा गरी राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शान्ति प्रक्रियालाई छिटो पूरा गर्न राजनीतिक दलहरू, नेपाल सरकार, संसद्लगायत सम्बन्धित पक्षसँग बैठकले माग गरेको छ । चौतर्फी राजनीतिक अराजकता, निराशा र आर्थिक मन्दीलगायतका कारण बढिरहेको महँगी नियन्त्रण गर्न, जनताको जीवनस्तरलाई सहज बनाउन, राहत र सुविधा प्रदान गर्न, बाढीपहिरोबाट पीडित जनतालाई तत्काल राहत प्याकेज घोषणा गर्न पनि बैठकले सरकारसँग माग गरेको छ ।

नक्कली भुटानी शरणार्थी, ललितानिवास जग्गा, सुन तस्करीलगायत प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याई सुशासन स्थापनाका लागि सरकारले चलाइरहेको भ्रष्टाचारविरुद्धको अभियानलाई बैठकले समर्थन गरेको छ । यस्तै, भ्रष्टाचार, कालोबजारी, कमिसनतन्त्र आदिबाट अकुल सम्पत्त आर्जन गर्नेविरुद्ध तथा दण्डहीनता र अनियमितता अन्त्यको पक्षमा सरकारले चालेको कदमलाई सफल पार्न दृढ रहने निर्णय पनि बैठकले गरेको छ ।

मंकी स्किन रोग नियन्त्रणका लागि उपचार र भ्याक्सिनको प्रबन्ध गर्न र किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न बैठकले माग गरेको छ । सामान्तवादको अवशेषका रूपमा रहेको सुदखोरीको अन्त्य गर्न सरकारले ल्याएको मिटरब्याजविरोधी ऐनको स्वागत गरेको छ भने वित्तीय संस्थाबाट हुने गरेका चक्रवर्ती ब्याज लिने र शोषण गर्ने कार्यको अन्त्य गर्न माग गरेको छ ।

माओवादी फेरि जाग्नेछ : प्रचण्ड
हाम्रो नेतृत्वको सरकारले राज्यका बेथिति हटाउने, जनतालाई सुशासन र सामाजिक न्याय दिने तथा समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने प्रक्रियाको नेतृत्व गरेको छ । त्यसले जनतामा एउटा नयाँ विश्वास र भरोसा जगाएको छ । हामी नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’अन्तर्गत ६ हजार सात सयभन्दा बढी वडामा सबै लिडर पुग्नेछौँ । तीनमहिने अभियानअन्तर्गत म पनि सातवटा प्रदेशका सातवटा वडामा गएर त्यहाँका जनताको भावना, समस्या बुझ्नेछु । हामी विचार र राजनीतिमा मात्रै होइन, भावनात्मक रूपले पनि एकमत भएका छौँ । माओवादी केन्द्र अब फेरि जाग्नेछ । देशको नेतृत्व लिने गरी माओवादी फेरि अगाडि बढ्नेछ ।

सुझावित समाचार