गुल्मीको अमर अर्बाथोकमा अज्ञात व्यक्तिले एक किसानको भैँसी मारिदिएका छन्। गुल्मीदरबार गाउँपालिका-५ भरुवामा शनिबार राति रमेश श्रेष्ठको भर्खरै ब्याएको भैँसीको टाउकोमा हानेर मारेको पशु प्राविधिक हरि कँडेलले जानकारी दिए।
कँडेलका अनुसार भैँसीको टाउकोमा ठूलो प्वाल परेको छ। आइतबार बिहान साढे ५ बजे गोठमा पुग्दा भैँसी मृत अवस्थामा फेला परेको रमेशकी श्रीमती भावना श्रेष्ठले बताइन्।
उनले हिजो राति दूध दुहेर घासपात गरेकाले अबेरसम्म भैँसी केही नभएको जानकारी दिइन्। श्रेष्ठले भैँसी मरेपछि आफूहरूको समेत सुरक्षा चुनौती बढेको गुनासो गरिन्।
श्रीमान नभएको र घरमा बूढी सासूसहित दुई छोराछोरी भएकाले ढुक्क भएर बस्ने अवस्था नभएको श्रेष्ठले बताइन्। रातिमा भएको घटना भएकाले प्रहरीले राम्रोसँग अनुसन्धान गर्दिनुपर्ने उनको माग छ।
घटनाको अवस्था हेरेर फर्किएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरी चौकी चारपालाका इन्चार्ज प्रहरी सहायक निरीक्षक मीनबहादुर सेनले जानकारी दिए। लैनो भैँसीको स्थानीय मूल्य ७०/७५ हजार छ।