गण्डकीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे ४६ बुँदे काम, लुम्बिनीका मुख्यमन्त्री चौधरीले अझै मन्त्रिपरिषद् पूर्णता दिन सकेनन्
गण्डकी र लुम्बिनी प्रदेश सरकारले सय दिन पूरा गरेका छन् । गण्डकीमा १५ वैशाखमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । लुम्बिनीमा १४ वैशाखमा कांग्रेसकै डिल्लीबहादुर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले १५ वैशाखमा सानो आकारमा मन्त्रिपरिषद् गठन गरेका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सरकारले एक सय दिनमा गरेका कामलाई ४६ बुँदामा समेटेर शनिबार सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा उनले जनताको जनजीविकाको सवालमा केन्द्रित रहेर सरकारले स्वास्थ्य, खानेपानी, सार्वजनिक सेवा (यातायात), कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
प्रदेशका मुख्यमन्त्रीहरू सम्मिलित अन्तरप्रदेश बैठकसँगै राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकलाई समेत आफ्नो मुख्य कामका रूपमा पाण्डेले लिएका छन् । दुई बैठकले प्रदेश र संघ सरकारबीच सहकार्यको वातावरण निर्माण गर्न ठूलो मद्दत पुगेको विश्वास आफूहरूको रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
डायलाइसिस सेवा लिनेहरूलाई झन्झटमुक्त र पालो कुर्नपर्ने अवस्थालाई शून्यमा झार्न २२ वटा नयाँ डायलाइसिस मेसिन ल्याएको र कास्कीको संक्रामक तथा सरुवा रोग अस्पतालमा सेवा सुरुसँगै स्याङ्जा, पर्वत, लमजुङ, तनहुँ र नवलपरासीमा दुई–दुईवटा मेसिनबाट सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले एक आर्थिक वर्षको अन्त्य र अर्को आर्थिक वर्षको सुरुवाती चरण भएकाले ठोस कार्यको नतिजा आउन केही समय लाग्नु स्वाभाविक रहेको भन्दै नयाँ कार्यक्रम र बजेटसँगै सरकार योजना निर्माण र बजेट विनियोजनको कार्य भर्खरै सम्पन्न गरेको जानकारी दिए ।
लुम्बिनीमा मन्त्रालय बढाउने मुख्यमन्त्रीको तयारी
लुम्विनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले शनिबार सय दिन पूरा गरेको छ । लुम्विनी प्रदेश सरकारले सय दिनसम्म पनि पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री चौधरीले १५ वैशाखमो तीनजनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसयता उनले विना विभागिय मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने र ८ जेठमा थप तीनजनालाई मन्त्री नियुक्त गरेका थिए ।
१० सदस्यीय मन्त्रिपरिषद् बनाउने गरी सुरुमा तयारी गरेका मुख्यमन्त्री चौधरीले सातजना मन्त्री नियुक्त गरेका छन् । मन्त्रालयमा भागबन्डा नमिल्दा मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफैँसँग राखेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको सय दिन पुगे पनि मन्त्रालयको संख्या बढाउने गृहकार्यमा सत्ता गठबन्धनका दलहरू लागेका छन् । हाल सरकारमा एकजना मात्रै सहभागी भएकाले थप दुईजना मन्त्री हुनुपर्ने अडानमा माओवादी छ । हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित दुईजना मन्त्री छन् । सरकारका प्रवक्तासमेत रहेका प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले माओवादीले दुईर कांग्रेसले थप तीन मन्त्रालय लिने सहमति भएको बताए ।
हाल लुम्बिनीमा मुख्यमन्त्री चौधरीको नेतृत्वको मन्त्रिपरिषद्मा माओवादीका धनबहादुर मास्की आर्थिक मामिला, कांग्रेसका राजु खनाल स्वास्थ्य, लोसपाका सन्तोषकुमार पाण्डे गृह, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमिव्यवस्था, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधारमन्त्री छन् ।