सामाखुसी खोलामा बेपत्ता विधान ११ दिनपछि मृत फेला

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

सामाखुसी खोलामा खसेर बेपत्ता भएका १३ वर्षीय विधान आलेमगर ‘साजन’को शव ११ दिनपछि फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको शव दक्षिणकालीस्थित बागमती नदी–किनारमा बिहीबार दिउँसो फेला परेको हो । प्रहरीवृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनको शव फेला पारेको हो ।

सनाखतपछि शवको पोस्टमार्टम गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं परिसर प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनले भने, ‘सामाखुसी खोलामा खसेर बेपत्ता बालकको शव ११ दिनपछि दक्षिकालीस्थित बागमती किनारमा फेला परेको छ । शवको सनाखत भइसकेको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।’

बागमती नदी–किनारमा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विधान ७ साउन साँझ करिब ५ः३० बजेतिर खोलामा खसेका थिए । त्यही बेलुकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उनको खोजीमा जुटेका थिए । तर, शव फेला पर्न सकेको थिएन ।  

काठमाडौं महानगरपालिको ३ र २६ नम्बर वडास्थित मध्य–सहरबीच सामाखुसी खोला बग्छ । खोलाको किनारबाटै स्थानीयले घर निर्माण गरेका छन् । आउजाउ गर्न स्थानीयले निजी लगानीमा वारपार ढाक्ने गरी खोलामाथि ‘स्ल्याब’ बिछ्याएका छन् । जसको न नक्सापास छ, न सम्बन्धित स्थानीय तहबाट अनुमति नै लिइएको छ । सोही धरापमा विधान परेका थिए । 
 

See More On

सुझावित समाचार