अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जुलाई महिनाको एकदिवसीय र अन्तर्राष्ट्रिय टी–२० खेलाडी वरीयता सार्वजनिक गरेको छ । एकदिवसीयको ब्याटिङ वरीयतामा नेपालका दुई खेलाडी मात्र समावेश छन् । कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले वरीयता गुमाएका छैनन् । रोहित चार सय ८० रेटिङका साथ ७३औँ स्थानमा छन् । आसिफ ७९औँ स्थानमा रहँदा चार सय ७५ अंक जोडेका छन् । ब्याटिङमा पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा छन् । उनले सर्वाधिक आठ सय ८६ रेटिङ प्राप्त गरेका छन् ।
यसैगरी, एकदिवसीय बलिङ वरीयतामा नेपालका पाँच बलर परेका छन् । शीर्ष स्थानमा अस्ट्रेलियाका जोस हेजलउड रहेका छन् । अलराउन्डर सोमपाल कामीले मात्र एक स्थान सुधार गरेका छन् । अन्य चार बलरको स्थान परिवर्तन भएको छैन । सोमपालले एक स्थान सुधार गरी ७९औँ स्थान रक्षा गरे । उनले चार सय २७ रेटिङ अंक बटुलेका छन् । पूर्वकप्तान सन्दीप लामिछाने नेपाली खेलाडीमध्ये माथि रहेका छन् । उनी २३औँ स्थानमा रहे ।
उनले पाँच सय ६८ रेटिङ अंक प्राप्त गरे । यसैगरी, दीपेन्द्रसिंह ऐरी चार सय ७० रेटिङका साथ ६३औँ स्थानमा छन् । फास्ट बलर करण केसीले ८७औँ स्थान पाउँदा चार सय २१ रेटिङ अंक बटुले । ललित राजवंशी ९६औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । उनले तीन सय ८८ रेटिङ अंक जोडे ।
यसैगरी, अन्तर्राष्ट्रिय टी–२० ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार शीर्ष स्थानमा छन् । उनले सर्वाधिक आठ सय ११ रेटिङ हात पारे । नेपालका दीपेन्द्रसिंह ६२औँ स्थानमा छन् । उनी टी–२० को अलराउन्डरतर्फ १४औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । अलराउन्डरमा उनले एक सय ५१ रेटिङ प्राप्त गरे । यस विधामा बंगलादेशका सकिब अल हसन दुई सय ८८ रेटिङका साथ शीर्ष स्थानमा छन् । अन्तर्राष्ट्रिय टी–२० बलिङमा सन्दीप मात्र रहे । उनी ७०औँ स्थानमा छन् । उनले चार सय ४७ रेटिङ बटुले । यस विधामा अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । उनले सात सय १३ रेटिङ हात पारेका छन् ।