च:मति जग्गा एकीकरण आयोजना हस्तान्तरणको मिति फेरि धकेलियो

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

२० वर्षपछि हस्तान्तरण हुन लागेको चःमति जग्गा एकीकरण आयोजनाको फेरि म्याद थपिएको छ । काठमाडौं महानगरअन्तर्गतको यो आयोजना गत असार मसान्तमै हस्तान्तरण हुने भनिए पनि फेरि म्याद थपिएको हो ।

९० प्रतिशतभन्दा धेरैको लालपुर्जा वितरण भइसकेको भन्दै गत असारभित्रै आयोजना हस्तान्तरण गर्न महानगरका मेयर बालेन्द्र साहले दबाब दिँदै आएका थिए । तर, पुनर्विकास अध्ययन गर्ने भन्दै आयोजनाको म्याद ५६ महिना थपिएको हो । आयोजनाका अनुसार ६ महिनामा बाँकी काम सकिनेछ । महानगरको आर्थिक वर्ष ०८०/८१ नीति तथा कार्यक्रममा मिश्रित घनाबस्ती क्षेत्रभित्र रहेका सहरी पुनर्विकासको सम्भाव्यता अध्ययन गरिने र हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनाहरूलाई चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिनेछ ।

अब ६ महिनामा आयोजनाको सबैजसो काम सकेर हस्तान्तरण गरिने आयोजना प्रमुख निर्मलराज बरालले बताए । ‘आयोजनाको सुरुदेखि नै सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वार्टर)को कम्पाउन्डभित्रबाट मूल सडकसँग जोडिने सडक खुलाउनु चुनौती बनेको थियो । मेयरसाबको सक्रियतामा उक्त बाटो खुला गर्न सफल भएका छौँ,’ प्रमुख बरालले भने, ‘अब अरू केही काम बाँकी छन् । ती ६ महिनामा सकेर आयोजना हस्तान्तरण गर्छौँ ।’ उक्त क्वार्टरको पूर्वतर्फको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फको तीन मिटर चौडा सडक खोलेर ढलानसमेत भइसकेको छ । उनका अनुसार बहुवर्षीय भवन निर्माणबाहेकका अरू सबै काम ६ महिनाभित्र आयोजनाले सक्नेछ ।

आयोजनाअन्तर्गत करिब १४ सय रोपनी
कुल १३ सय ६९ रोपनी क्षेत्रफल रहेको आयोजनाअन्तर्गत ७२ प्रतिशत आवासीय क्षेत्र छ । जसमध्ये सडकले २४.४७ प्रतिशत ओगटेको छ । यस्तै, यहाँ दुईवटा पार्क तथा खुला क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र र भचाखुसी खोलासमेत रहेको छ । यो आयोजना सरकारबाट ५ वैशाख ०६० मा स्वीकृत भएको थियो । सोही सालको १ मंसिरमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएर काम सुरु भएको थियो । अयोजनामा १७ वटा ब्लक छन् । पाँचदेखि ६ वर्षभित्रै काम सम्पन्न गर्ने गरी आयोजना सुरु भए पनि २० वर्षसम्म पनि पूरा भएको छैन । 

बहुतले प्रशासनिक भवन निर्माण सम्झौता 
आयोजनाअन्तर्गत बन्ने दुईवटा बहुतले प्रशासनिक भवनमध्ये एउटाको गत साता निर्माण कम्पनीसँग सम्झौता भएको छ । पाँचतले उक्त भवन १८ महिनामा निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ । अर्को भवन निर्माणका लागि यसै साताभित्रै सम्झौता हुने आयोजनाले जनाएको छ । यसबाहेक १० वटा पार्क बनाउन डिजाइन फाइनल भइसकेको र निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ । गत साता मात्र समितिका संयोजकलाई पार्कको डिजाइन दिएको एवं सम्झौताका लागि बोलाइएको छ । 

आयोजनाको पी ब्लकमा रहेको पुरानो ढुंगेधारा संरक्षणका लागि सम्पदा अभियन्ताहरूको दबाबपछि आयोजनाले ६ महिनाभित्र ढुंगेधारा उत्खनन गर्ने जनाएको छ । आयोजनाले ढुंगेधारा निर्माणका लागि बजेटसमेत विनियोजन गर्ने प्रमुख बरालले बताए । यीबाहेक आयोजना क्षेत्रभित्र सिसिटिभी जडान गर्न बाँकी छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसँग समन्वय गरेर सिसिटिभी म्याद थपिएको अवधिमै राखिनेछ । यसका लागि प्रहरी कार्यालयमा स्टिमेट पठाइसकेको छ । आयोजनाले गरेको स्टिमेटअनुसार सडकबत्ती राख्न ४० लाख ५५ हजार रुपैयाँ लाग्नेछ । 

लागत बढेको बढ्यै
२० वर्षअघि आयोजनाको लागत २६ करोड थियो, जुन अहिले बढेर ६२ करोड पुगेको छ । लागत निकाल्न अझै बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवानपाउ–वनस्थली सडक पर्छ भने उत्तरमा बालाजु–वनस्थली चक्रपथ र दक्षिणमा स्वयम्भू–भगवानपाउ–बिजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको छ ।

See More On

सुझावित समाचार