अल नासेरमा माने आबद्ध

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

 सेनेगलका स्ट्राइकर साडियो मानेले साउदी अरेबिया प्रो लिग खेल्ने भएका छन् । साउदी क्लब अल नासेरले सेनेगलका प्रभावशाली स्ट्राइकर मानेलाई अनुबन्धित गरेको छ । युरोपियन लिग छाड्दै साउदी क्लबमा चर्चित खेलाडीको सूचीमा माने पनि थपिएका छन् ।  अब मानेले क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।

गत डिसेम्बरमा रोनाल्डो म्यानचेस्टर युनाइटेड छाड्दै अल नासेर पुगेका थिए । साउदी अरेबियामा वर्तमान समयकै उत्कृष्ट खेलाडीमध्ये एक रोनाल्डोले साउदी अरेबियाको प्रो लिग रोजेपछि युरोपका नाम चलेका धेरै खेलाडी यतैतिर आकर्षित भएका छन् । 

माने र अल नासेरबीच चार वर्षको सम्झौता भएको छ । मानेले अल नासेरबाट एक वर्षमा ३४ मिलियन पाउन्ड पाउनेछन् । सन् २०२७ सम्म अल नासेरमा रहने मानेले १३६ मिलियन पाउन्ड प्राप्त गर्नेछन् । यसअघि, माने बुन्डेस क्लब बायर्न म्युनिखमा आबद्ध थिए । ३१ वर्षीय मानेले बायर्नबाट ३८ खेलमा १२ गोल गरे । यसअघि माने ६ वर्ष लिभरपुलमा थिए । लिभरपुलबाट मानेलाई भित्र्याउन बायर्नले तीन करोड ५० लाख पाउन्ड तिरेको थियो । आन्तरिक द्वन्द्वकै कारण क्लबले उनलाई बेचेको हो ।

लिभरपुलमा रहँदा उनले युरोपियन च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युईएफए सुपर कप, एफए कप र काराबाओ कप उपाधि हात पारेका थिए । नासेरमा पाँच पटकका बालोन डिओर विजेता रोनाल्डो, क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोभोभिच, ब्राजिलका एलेक्स टेल्लससँगै खेल्नेछन् ।

मानेले अब अल नासेरमा रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्नेछन् । यसअघि, साउदी प्रो लिगमा लिभरपुलबाट पूर्वकप्तान जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिनो र फाबिन्हो पुगेका थिए । रियल म्याड्रिडका पूर्वखेलाडी करिम बेन्जेमा र चेल्सीका एनगोलो कान्टे पनि साउदी क्लबमा आबद्ध भइसकेका छन् । गत साता म्यानचेस्टर सिटीका रियाद माहरेज पनि युरोपियन लिग छाड्दै साउदी पुगेका थिए । 

सुझावित समाचार