चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा शनिबारदेखि ४० घन्टाको अवधिमा परेको मुसलधारे वर्षा १४० वर्षयताकै ठूलो भएको अधिकारीले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार त्यस भेगमा आँधीसहित ७४४.८ मिलिमिटर वर्षा भएको थियो ।
यसअघि सन् १८९१ मा सो क्षेत्रमा ६०९ मिलिमिटर पानी परेको विभागले जानकारी दिएको छ । राजधानी बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घन्टाको हो ।
मुसलधारे वर्षाका कारण राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सयजना विस्थापित भएका छन् । वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् ।
यस वर्षाले निम्त्याएको बाढीपहिरोमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकोप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको अधिकारीले बताएका छन् । पछि उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए ।