एक वर्षमा सवा १४ अर्ब बराबरको एक लाख बिमा पोलिसी सरेन्डर

जीवन बिमा कम्पनीहरूमा पोलिसी सरेन्डर दर चार गुणासम्मले वृद्धि

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

कोभिडपछि विश्वलाई नै प्रभावित पारेको आर्थिक मन्दीले नेपालको बिमा क्षेत्र पनि प्रभावित बनेको छ । फलस्वरूप जीवन बिमा कम्पनीको व्यवसाय सामान्य बढे पनि सरेन्डर दर भने ह्वात्तै बढेको छ । गत वर्ष जीवन बिमा कम्पनीहरूको सवा १४ अर्ब रुपैयाँबराबरको बिमा पोलिसी सरेन्डर भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा मात्रै विभिन्न जीवन बिमा कम्पनीका एक लाख चार हजार पाँच सय ६ वटा पोलिसी सरेन्डर भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बिमा कम्पनीका ८१ हजार आठ सय ६० वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांक छ । 

बिमा पोलिसी सरेन्डर भएसँगै कम्पनीहरूले बिमितलाई एकै वर्षमा १४ अर्ब २७ करोड रुपैयाँ भुक्तानी गरेका छन् । यो रकम गत आवको तुलनामा १७ प्रतिशतले बढी हो । अघिल्लो आवमा सरेन्डरबापत कम्पनीहरूले १२ अर्ब १८ करोड भुक्तानी गरेका थिए । 

बिमा पोलिसी सरेन्डर सामान्य प्रक्रिया हो । तर, धेरै पोलिसी सरेन्डर हुँदा बिमा कम्पनीहरू जोखिममा पर्ने नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले बताए । ‘बिमा पोलिसी सरेन्डर गर्नबाट कसैलाई रोक्न सकिँदैन । तर, सरेन्डर गर्दा कम्पनी र बिमित दुवैलाई घाटा हुन्छ,’ उनले भने । अहिले मानिसहरूको क्रयशक्ति नै घटेका कारण बिमा क्षेत्रमा पनि यसको असर देखिएको उनको भनाइ छ । ‘गत वर्ष नेपालको बिमा व्यवसाय वृद्धि नै धेरै खुम्चिएको छ । यसले पनि बिमा क्षेत्रमा आर्थिक मन्दीको प्रभाव परेको स्पष्ट देखिन्छ’ उनले भने । सरेन्डर गर्दा कम्पनीले केही रकम घटाएर फिर्ता गर्छ । यसअघि बिमा गरेको एक वर्षमा नै बिमितले पोलिसी सरेन्डर गर्न पाउँथे भने अहिले प्राधिकरणले बिमा गरेको तीन वर्षपछि मात्रै सरेन्डर गर्न पाउने व्यवस्था गरिदिएको छ ।

जीवन बिमा कम्पनीहरूमा गत वर्ष करिब चार गुणासम्मले बिमा पोलिसी सरेन्डर दर बढेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष पोलिसी सरेन्डर दरमा भएको वृद्धिका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी पोलिसी सरेन्डर भएको देखिन्छ । प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष कम्पनीको एक हजार दुई सय ९५ वटा पोलिसी सरेन्डर भएको छ । अघिल्लो आवमा तीन सय ३७ वटा पोलिसी सरेन्डर भएको तथ्यांक छ । पोलिसी सरेन्डर भएसँगै गत वर्ष कम्पनीले ११ करोड ८४ करोड भुक्तानी गरेको छ । 

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको गत वर्ष बिमा पोलिसी सरेन्डर दर तीन गुणाभन्दा बढीले बढेको छ । गत वर्ष कम्पनीमा एक हजार ७१ वटा पोलिसी सरेन्डर भएका थिए । अघिल्लो वर्ष तीन सय २४ वटा पोलिसी सरेन्डर भएका थिए । गत वर्ष भएको पोलिसी सरेन्डरबाट कम्पनीले १० करोड २७ लाख भुक्तानी गरेको छ । 

प्रभु लाइफ इन्स्योरेन्सको भने दुई गुणाभन्दा बढीले पोलिसी सरेन्डर दर बढेको छ । गत वर्ष कम्पनीमा ६ सय ५९ वटा पोलिसी सरेन्डर भए भने अघिल्लो आवमा दुई सय ८६ वटा पोलिसी सरेन्डर भएका छन् । रिलायबल लाइफ इन्स्योरेन्सको पनि बिमा पोलिसी सरेन्डर दर दुर्ई गुणाभन्दा धेरैले बढेको छ । गत आवमा एक हजार पाँच सय आठवटा पोलिसी सरेन्डर भएका छन् भने अघिल्लो आवमा सात सय १३ वटा सरेन्डर भएका थिए । 

समग्र आर्थिक मन्दीले नेपालको बिमा क्षेत्रलाई प्रभावित बनाएको सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल जीवन बिमक संघका उपाध्यक्ष पोषकराज पौडेलले बताए । ‘यतिवेला सबै वित्तीय क्षेत्रबाट मानिसले रकम निकाल्न थालेका छन् । सहकारीमा देखिएको समस्याले पनि बिमा कम्पनीबाट पनि मानिस सशंकित बनेका छन्,’ उनले भने ।  

प्राधिकरणका अनुसार सरेन्डर भएका बिमा पोलिसी संख्या र रकमको परिमाणका आधारमा गत आवमा लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३२ हजार एक सय २६ वटा पोलिसी सरेन्डर भएका छन् । यो संख्या अघिल्लो आवको तुलनामा ४ प्रतिशतले बढी हो । सो संख्याको पोलिसी सरेन्डर हुँदा कम्पनीले चार अर्ब ७८ करोड रुपैयाँ गुमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब २१ प्रतिशतले बढी हो ।

 त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का २० हजार एक सय ८० वटा पोलिसी सरेन्डर भएका छन् । यो संख्या अघिल्लो आवको तुलनामा १९ प्रतिशतले बढी हो । पोलिसी सरेन्डरका कारण कम्पनीको तीन अर्ब ५१ करोड रुपैयाँबराबरको व्यवसाय गुमेको छ । यो रकम अघिल्लो आवको तुलनामा २० प्रतिशतले बढी हो । नेसनल लाइफ इन्स्योरेन्समा भने गत आवमा नौ हजार नौवटा पोलिसी सरेन्डर भएको छ । यो संख्या अघिल्लो आवको तुलनामा १९ प्रतिशतले बढी हो । पोलिसी सरेन्डर हुँदा कम्पनीको एक अर्ब ४४ करोड रुपैयाँ व्यवसाय गुमेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६७ प्रतिशतले बढी हो ।  

मिस सेलिङले बढायो सरेन्डर 
बिमितलाई बिमाप्रतिको वितृष्णा नै बिमा पोलिसी सरेन्डरको मूल कारण भएको बिमा विज्ञ एवं स्वास्थ्य बिमा बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौला बताउँछन् । अभिकर्ताले बिमा पोलिसीका बारेमा बिमितलाई राम्रोसँग बुझाउन नसक्दा बिमितहरू बिमाप्रति नकारात्मक भएका हुन् । अभिकर्ताले बिमितभन्दा पनि आफ्नो कमिसनलाई केन्द्रमा राखेर व्यापार गर्दा पोलिसी सरेन्डर हुने उनले बताए । नेपालमा आवश्यकताभन्दा बढी कम्पनी हुँदा अभिकर्ताबीच नै प्रतिस्पर्धा भएको उनको भनाइ छ । अभिकर्ताले आफ्नो लक्ष्य पूरा गर्न र कमिसनको लोभमा बिमितलाई गलत सूचना दिएर पोलिसी बिक्री गर्छन् ।  केही हदसम्म भने बिमितको आम्दानीको स्तर खस्केर वा मुलुकमा आर्थिक मन्दी लागेको अवस्थामा पनि बिमा पोलिसी सरेन्डरलाई प्रभाव पार्ने प्राधिकरणका बिमितिका बिमाविज्ञ भोजराज शर्माले बताए ।

क्रयशक्ति घट्दा सरेन्डर बढ्यो
राजुरमण पौडेल, कार्यकारी निर्देशक, नेपाल बिमा प्राधिकरण

आर्थिक मन्दीका कारण मानिसको क्रयशक्तिमा ह्रास आएको छ । फलस्वरूप मानिसले पोलिसी सरेन्डर गर्न थालेका हुन् । अर्को कारण भनेको जथाभावी पोलिसी बिक्री गर्नुले पनि पोलिसी सरेन्डरलाई बढावा दिएको छ । 

आर्थिक मन्दीको प्रभाव 
पोषकराज पौडेल, सिइओ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

आर्थिक मन्दीले सम्पूर्ण वित्तीय क्षेत्र प्रभावित भएका छन् । सहकारी संस्थामा जोखिम देखिन थालेको छ । जसका कारण मानिसहरूले वित्तीय क्षेत्रमा भएको पैसा निकाल्न थाले । फलस्वरूप बिमा कम्पनीमा पनि सरेन्डरको दर बढेको हो ।

सुझावित समाचार