आइसिटी अवार्डको आठौँ संस्करणका लागि अनलाइन नोमिनेसन सुरु भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १३ विधामा नोमिनेसन खुला गरेको हो ।
आइसिटी अवार्डले यो वर्ष प्रोफेसनल एक्सिलेन्स अवार्ड थप गरेको छ । गत वर्षदेखि दक्षिण एसियाली देशहरूका स्टार्टअपलाई लक्षित गरेर साउथ एसिया आइसिटी अवार्ड पनि सञ्चालनमा रहेको छ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष थप परिष्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यीबाहेक यस वर्ष स्टार्टअप तथा इनोभेसनअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एन्ड इनोभेसन आइसिटी अवार्डलगायतका विधा रहेका छन । व्यक्तिगत योगदानका आधारमा प्रदान गरिने अवार्डहरूमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्डका लागि पनि नोमिनेसन खुला गरिएको छ ।
संस्थागत विधामा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ विधा रहेका छन् । यसैगरी, साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनमा पनि नोमिनेसन खुला गरिएको छ । यी सम्पूर्ण विधाहरूमा अफिसियल वेबसाइटमार्फत अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । आफू स्वयं वा अन्य कोहीले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने जनाइएको छ । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएका छन् ।
अवार्ड छनोट प्रक्रियाका क्रममा, सर्वोत्कृष्ट छनोटका लागि जुरी समितिले सम्बन्धित संस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययनसमेत गर्ने जनाइएको छ । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिसहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्ति रहेका छन् । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतका देशहरूबाट विज्ञ जुरी समितिमार्फत छनोट प्रक्रिया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्पर्धीहरू ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन् ।