नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनमा चतुरबहादुर चन्द र रोशनबहादुर सिंहले अध्यक्षमा दाबेदारी गरेका छन् । असोजमा हुने अधिवेशनका लागि दुवैले आ–आफ्नो समूह बनाउँदै चुनावी अभियान थालेका छन् ।अहिले चन्द अध्यक्ष तथा सिंह कोषाध्यक्ष छन् । दुवैले जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म चुनावी माहोल तताइरहेका छन् । क्यानको पछिल्लो कार्यसमितिको बैठकले असोज पहिलो साता केन्द्रीय निर्वाचन हुने निर्णय गरेको थियो । केन्द्रको निर्वाचनअघि साउन मसान्तसम्म जिल्ला र १० भदौँसम्म प्रदेश निर्वाचन हुने क्यानले जनाएको छ । प्रारम्भिक चरणदेखि चन्द र सिंहबीच चर्को प्रतिस्पर्धा हुने छाँटकाँट छ ।
यी दुई व्यक्ति निर्वाचनमा होमिइरहँदा अन्तिम चरणमा तेस्रो पक्षले पनि दाबी गर्न सक्छ । क्यान नेतृत्वसँग असन्तुष्ट रहेका दाउद अन्सारी, ऋषिराम गौतमलगायतका समूहले चुनावको सम्बन्धमा प्रतिक्रिया दिएका छैनन् । यस समूहबाट गोप्य रूपमा अध्यक्षमा दाबी हुने आकलन गरिएको छ । अध्यक्षमा दाबेदारी दिइरहेका चन्द र सिंहबीच राम्रै सम्बन्ध छ । पछिल्ला चार वर्षमा क्यानको अधिकांश बैठक भएका विभिन्न निर्णयमा दुई व्यक्तिले सहकार्य गरेका छन् ।
चन्दले बारम्बार पुरानै पदमा आफू दोहोरिन चाहेको बताउँदै आएका छन् । उनले कोषाध्यक्ष सिंहलाई एकपटकका लागि सहयोगको अपिल गरेका छन् । नेपाली कांग्रेस बैतडी जिल्ला सभापति चन्दले भने सुदूरपश्चिम र पश्चिमका भोटरलाई एकढिक्का बनाएर अगाडि बढ्ने योजना बनाएका छन् । यो चार वर्षको अवधिमा सिंहले धेरै भोटरलाई आफ्नो पक्षमा बनाइसकेका छन् । महोत्तरीका सिंहले मधेसकेन्द्रित जिल्लामा राम्रो पकड बनाएका छन् ।
सहकार्य गरी अगाडि बढ्न सुझाव
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले चन्द र सिंहबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा चलिरहेको बताएका छन् । यद्यपि, नेपाली क्रिकेट र क्यानको व्यवस्थापकीय र प्रशासनिक पक्ष बलियो बनाउन यी दुवै प्रत्यासी सहकार्य गर्दै अगाडि बढ्नुपर्ने सुझाव पाठकले दिएका छन् । ‘अहिले उहाँहरूले नेपाली क्रिकेटको विकासमा सहकार्य गरिराख्नुभएको छ, आगामी चार वर्षे कार्यकालका लागि एक–आपसमा सहयोग हुनुपर्नेजस्तो लाग्छ,’ अध्यक्ष र कोषाध्यक्षका निकट मानिने केन्द्रीय सदस्यसमेत रहेका पाठकले बताए । ‘क्यानको निर्वाचन आउन दुई महिना समय छ, यसबीचमा जे पनि हुन सक्छ, तर दुवैजना सहकार्य गर्दा नै राम्रो हुने देख्छु,’ उनले भने ।
०७६ असोज ६ मा तत्काल विनयराज पाण्डेलाई ४४–१५ को विशाल मतान्तरले हराउँदै चन्द चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका थिए । त्यसवेला अध्यक्षमा ५७ जना सदस्यले भोटिङ गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा क्यान रहँदा चन्द नै अध्यक्ष थिए । तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै आइसिसीले क्यानलाई ०७३ मा निलम्बन गरेको थियो ।
यी हुन् भोटर
क्यानको निर्वाचनमा जम्मा ८८ भोटर छन् । जिल्लाबाट ४५ भोट खस्नेछ । प्रदेशबाट यसको आधा भोटर हुनेछन् । यसैगरी, १७ कार्यसमिति, प्रशिक्षक संघ र अम्पायर संघबाट समान एक भोटर छनोट हुनेछन् । प्रदेशतर्फ मधेस, लुम्बिनी र सुदूरपश्चिमबाट समान चार भोटर छन् । कोसी, बागमती, गण्डकी र कर्णालीबाट समान तीन भोटर चुनिनेछन् ।
सबैबाट सहयोग पाए फेरि क्यान हाँक्छु : चन्द
चन्दले क्यानभित्रका साथीहरूले सहयोग गरे पुनः अध्यक्षमा दोस्रो कार्यकाल सम्हाल्न तयार भएको बताएका छन् । आफ्नो चार वर्षको कार्यकालमा नेपाली क्रिकेटलाई एक उचाइमा पुर्याएको उनले बताएका छन् । ‘क्यानलाई अगाडि बढाउने क्रममा सकेसम्म साथीभाइसँग मिलेर जान्छु, क्रिकेटमा केही गर्नुपर्छ भन्ने लाग्छ,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘नेपालको क्रिकेटमा देखिएको विभिन्न विवादबीच एउटा उचाइमा पुर्याउने कार्य भयो, सबै मिलेर विवाद सल्टाएर अगाडि बढ्नुपर्छ ।’
पदाधिकारीहरूले आवश्यक सम्झिए अध्यक्षमा दाबेदारी दिने उनले बताए । ‘साथीहरूले राम्रो सुझाव दिँदा अगाडि बढ्छु, उहाँहरूले आवश्यक छैन भने अगाडि जादिनँ,’ उनले भने । चन्दले प्रत्यासी मानिएका सिंह अध्यक्ष बन्ने सम्भावना कम रहेको बताए । ‘रोशनसँग हल्का कुरा गरेको छु, अध्यक्ष हुन्छु भनेका छैनन्,’ चन्दले भने, ‘निर्वाचनमा उम्मेदवारी दिने अधिकार सबैसँग छ, उनले पनि मिलेरै गरौँ भनेका छन् ।’
साथीहरूले चाहना राखेका छन् : सिंह
क्यानमा चुनावको सरगर्मी चलिरहँदा अध्यक्षका प्रत्यासी मानिएका सिंहको ध्यान एसिया कप र विश्वकपको तयारीमै केन्द्रित छ । क्यानको निर्वाचन आउन दुई महिना बाँकी रहँदा यसअघिका महत्वपूर्ण कार्यमा आफू लागेको उनले बताए । ‘अहिले मेरो उद्देश्य एसिया कपमा नेपाललाई राम्रो नतिजा दिलाउने हो, सँगसँगै विश्वकप छनोटका लागि तयारी गर्नुपर्छ,’ उनले भने, ‘वर्तमान अवस्थामा मेरो नजरमा यही महत्वपूर्ण विषय हो ।’ उनले तत्काल चुनावतिर आफ्नो ध्यान नभएको जनाए । ‘अहिले नै चुनावतर्फ ध्यान खासै दिएको छैन, तर जिल्लामा मेरो माग छ,’ उनले भने, ‘जिल्ला र प्रदेशतिर निर्वाचनको काम भइरहेको छ, जहाँ क्रिकेट छ, त्यहाँ रोशन पुग्नुपर्छ भन्ने पनि रहेछ । साथीहरूले उठ्नुपर्छ भन्नुहुन्छ भने सोचौँला ।’