सुन्दरबजार नगरपालिकाका सबै कार्यालयमा डिजिटल हाजिरी मेसिन जडान गरिएको छ। नगरपालिकाको ११ वटा वडा, १४ वटा स्वास्थ्य संस्था र पालिकाका सबै शाखामा डिजिटल हाजिरी मेसिन जडान कार्य सम्पन्न भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुजन मिश्रले बताए।
गत आर्थिक वर्षको बजेटबाट ११ लाख रुपैयाँको लागतमा हाजिरी मेसिन जडान गरिएको हो। डिजिटल हाजिरी मेसिन जडान भएपछि कर्मचारीहरू नियमित हुने, समयमा कार्यालय आउने–जाने हुँदा सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ।
नगरप्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार डिजिटल हाजिरी मेसिनको मनिटरिङ पालिकाको सूचना प्रविधि शाखाबाट हुने व्यवस्था मिलाइएको हुँदा कुन वडाका कर्मचारी कुन समयमा कार्यालय आए भन्ने जानकारीसमेत प्राप्त हुनेछ।
पालिकाबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउन सबै कार्यालयमा डिजिटल हाजिरी मेसिन जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए। नगरपालिकाअन्तर्गत वडा कार्यालय, विषयगत शाखा र स्वास्थ्य संस्थामा गरी ७४ करार र ९९ स्थायी गरी एक सय ७३ कर्मचारी कार्यरत छन्।