कक्षा ११ मा महानगरको छात्रवृत्ति कार्यक्रम : १२ हजार नौ सय ७९ आवेदन, धेरैको रोजाइमा विज्ञान विषय

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

कक्षा ११ मा छात्रवृत्ति कार्यक्रमका लागि काठमाडौं महानगरपालिकामा १२ हजार नौ सय ७९ जनाले आवेदन दिएका छन् । २८ असारदेखि आवेदन फाराम खुलाएकोमा सोमबार अन्तिम दिनसम्ममा ६ हजार नौ सय ७२ जनाले अनलाइन र ६ हजार सातजनाले लिखित फाराम बुझाएका हुन् । 

यसमध्ये महानगरपालिकाको शिक्षा विभागले छनोट गरी सीमित विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्ययनका लागि सम्बन्धित विद्यालयलाई सिफारिस गर्नेछ । महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार सबैभन्दा धेरै आवेदन विज्ञान विषय अध्ययनतर्फ परेको छ । 

सीताराम कोइराला, शिक्षा विभाग प्रमुख, काठमाडौं महानगरपालिका
आवेदन भरेकामध्ये महानगरपालिकाको शिक्षा विभागले छनोट गरी सीमित विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्ययनका लागि सम्बन्धित विद्यालयलाई सिफारिस गर्नेछ । सबैभन्दा धेरै आवेदन विज्ञान विषय अध्ययनतर्फ परेको छ ।

फाराम भरेकामध्येबाट छनोट गरी २२ साउनसम्म महानगरले सिफारिस गरिसक्नेछ । यसअघि २० साउनमा छात्रवृत्तिका लागि परीक्षा हुनेछ । महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटामा प्राविधिक धारसहितका सबै संकाय समेटिनेछ । सहभागीले सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । फाराम भरेकामध्ये करिब पाँच हजार विद्यार्थीले मात्रै छात्रवृत्तिमा पढ्न पाउनेछन् । यसमध्ये १ प्रतिशत (करिब ५० जना) ल्यान्डफिल्ड साइट सिसडोल र बन्चरेडाँडाका सामुदायिक विद्यालयका लागि उपलब्ध गराइनेछ ।

सरकारले ०६७ देखि नै निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने घोषणा गरेको थियो । तर, उनीहरूले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाइरहेका थिए । छात्रवृत्ति कार्यक्रम प्रभावकारी नभएको भन्दै महानगरले यसपटक सबै निजी स्कुललाई कक्षा ११ को १० प्रतिशत कोटा खाली राखेर विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो । 

८५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुने
महानगरका अनुसार यहाँका निजी स्कुलहरूमा कक्षा ११ मा झन्डै ५० हजार विद्यार्थी भर्ना हुन्छन् । त्यसमध्ये १० प्रतिशत अर्थात् पाँच हजारलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । यसमध्ये पनि ८५ प्रतिशत अर्थात् चार हजार दुई सयभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुनेछन् । अन्य १५ प्रतिशत निजी स्कुलबाट आएका विद्यार्थीको योग्यता र क्षमताका आधारमा प्रदान गरिनेछ । महानगरभित्र दुई सयभन्दा बढी निजी विद्यालयमा ११ र १२ कक्षासम्म पढाइ हुन्छ  । 

कसलाई कति कोटा ? 
छात्रवृत्ति कार्यक्रमका लागि महानगरले कोटा छुट्याएको छ । जसमध्ये खुला ४० प्रतिशत, आरक्षण कोटा ४५ प्रतिशत, महानगरभित्रका स्थायी बसोवासी ९ प्रतिशत, १ प्रतिशत बन्चरेडाँडा र सिसडोलका सामुदायिक विद्यालयबाट आएका विद्यार्थी र ५ प्रतिशत निजी विद्यालयका उत्कृष्ट तथा जेहेनदार विद्यार्थीलाई प्रदान गरिनेछ । आरक्षण कोटा ४५ प्रतिशतभित्र ३३ प्रतिशत छात्रा र १२ प्रतिशत मधेसी रहनेछन् ।

सुझावित समाचार