विशेष सूचनाका आधारमा २ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन बरामद गर्यो । ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याइएको एक सय ६० टुक्रा सुन गोदाममा लैजाने क्रममा विभाग टोलीले बरामद गरेको थियो । भन्सार प्रक्रिया पूरा गरेर निस्किँदै गर्दा टोलीले चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ गरेको थियो ।
त्यसयताका १३ दिनमा विभागले १८ जनालाई पक्राउ गरिसकेको छ भने विभिन्न गोदाममा छापा पनि हानिसकेको छ । विभाग अहिलेसम्म पनि यसैको अनुसन्धानमा जुटिरहेको छ । तर, छानबिन र अनुसन्धान सुस्त हुँदा तस्करीका प्रमाणहरू लोप हुने र आशंका गरिएकाहरू फरार हुने क्रम बढेको छ । ‘हामी अनुसन्धानमा जुटिरहेका छौँ,’ आरोपितहरूसँगको बयान र प्राप्त प्रमाणका आधारमा छापा हान्ने र पक्राउ गर्ने क्रम जारी छ,’ विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार नयाँ पत्रिकासँग भने ।
अहिलेसम्मको चाल हेर्दा विभागको छानबिन र अनुसन्धान सुस्त देखिएको छ । जसका कारण तस्करीका प्रमाण लोप हुन थालेका छन् । यसका पछिल्ला उदाहरणका रूपमा विभिन्न गोदाममा छापा हान्दा भेटिएका सुन निकालिसकेका रित्ता ब्रेकसु हुन् । अनुसन्धान सुस्त हुँदा यस काण्डमा संलग्नहरू देशै छाडेर भागेका र भएका रेकर्डहरू नष्ट गरिसकेका आशंका गरिएको छ । यसले अन्ततः तस्करीको केन्द्रमा रहेका प्रमुख व्यक्तिहरू उम्किने जोखिम बढेको छ ।
छापा हान्ने र पक्रने क्रम जारी छ
नवराज ढुंगाना, महानिर्देशक, राजस्व अनुसन्धान विभाग
अनुसन्धानमा जुटिरहेका छौँ । आरोपितहरूसँगको बयान र प्राप्त प्रमाणका आधारमा छापा हान्ने र पक्राउ गर्ने क्रम जारी छ ।
जस लिने होडले अनुसन्धान फितलो
पर्याप्त तयारी र सावधानीका साथ गरिएको भनिएको सुन तस्करीको सफल अप्रेसनपछिको अनुसन्धान भने फितलो देखिएको छ । एक त तस्करीको अनुसन्धानका लागि आवश्यक पर्ने नेपाल प्रहरीको जनशक्ति लिनै विभागले ढिलाइ गर्यो । आफूले सुरु गरेको अप्रेसनको पूर्ण जस लिने आग्रहले प्रहरीको दक्षता, प्रविधि र अनुभवसिद्ध सहयोग लिन सुरुमा विभाग हिच्किचायो । विभागले अप्रेसनको चार दिनपछि मात्र प्रहरीको सहयोग मागेको थियो । पाँचौँ दिन प्रहरी उपरीक्षक कृष्ण पंगेनीको नेतृत्वमा प्रहरीले केही जनशक्ति पठाएको थियो । केही प्रहरी अहिले विभागको अनुसन्धानमा खटिएका छन् ।
आफूसँग पहिल्यै रहेको सशस्त्र र थप गरिएको प्रहरीको टोलीसहित अहिले विभागले अनुसन्धान जारी राखेको छ । विभागले अझै पनि विभिन्न ठाउँमा छापा हानिरहेको छ । तर, ढिलाइ भएका कारण विभागको छापा हनाइको औचित्य कम हुँदै गएको छ । गोदामहरूमा सामान उठाइसकेको, भेटिएका सामानमा पनि सुन नभेटिएको देखिएका छन् । शनिबार विभागको अनुसन्धान टोलीले काठमाडौंको टोखामा सुनलाई पगालेर रिसाइज गर्ने कारखानामा छापा हान्यो ।
तर, सुन फेला परेनन् । त्यसअघि ११ साउन टोलीले लाजिम्पाटको अर्को एक घरमा छापा हानेको थियो । पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिनले भाडामा लिएको घरको फ्ल्याटबाट पनि केही फेला परेन । तस्करी काण्ड सार्वजनिक भएको लामो समयपछि छापा हानेकाले सुन उठाइसकेको आशंका छ ।
१० साउनमा टोलीले सोह्रखुट्टेको एक घरमा छापा हानेको थियो । त्यहाँ भने सुन गाल्ने मेसिन नै भेटियो । ६६ थान सुन निकालिएको कार्टुन र केही सुटकेससमेत बरामद भयो । त्यसअघि ३ साउन मध्यरात विभागको टोलीले जिक्वान लिनको बालुवाटार गोदाममा छापा हानेको थियो । त्यहाँबाट एयरपोर्टमा बरामद गरिएजस्तै वस्तु भेटियो । जिक्वानले एयरपोर्टबाट सुन ल्याएर त्यही गोदाममा राख्ने र तत्तत् ठाउँमा तस्करी गर्ने गरेकोमा विभाग पहिलोपटक प्रस्ट भएको थियो । दुई दिनपछि मात्र छापा हानिएकाले विभागले त्यहाँ पनि सुन फेला पार्न सकेन ।
भाग्न थाले प्रमुख व्यक्ति
सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा विभागले हालसम्म विभिन्न १८ जनालाई पक्राउ गरेको छ । विभाग अझै पनि तस्करीको केन्द्रमा पुग्न सकेको छैन । पक्राउ परेकाहरूको बयान र अन्य प्रमाणका आधारमा अन्य संलग्नको पनि खोजी गरिरहेको छ ।
शनिबार राति विभागले तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई ठमेलको होटल भियानामा छापा हानेर पक्राउ गर्यो । उच्च राजनीतिक तहसँग पनि उनको संलग्नता रहेको विभागका अधिकारीहरू बताउँछन् । उनबाट सुन तस्करीबारे नयाँ सूचना पाउने आसमा विभाग छ । उनी विगत पाँच वर्षदेखि नेपालमा बस्दै आएका छन् । विगतमा अवैध कल सेन्टर चलाउने अपराधमा समेत उनको संलग्नता देखिए पनि उनी उम्किएका व्यक्ति हुन् ।
यसअघि, १० साउनमा विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेको आरोपित सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो । ७ साउनमा विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ र भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पक्राउ गरेको थियो ।
४ साउनमा चिनियाँ नागरिक जिक्वान लिन र सुनसहितको सामानको भन्सार छुटाउने कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र राजन श्रेष्ठ पक्राउ परेका थिए । विमानस्थलबाट सुन बरामद भएपछि पक्राउ पर्ने डरले भाग्न लागेका वेला उनी पक्राउ परेका थिए । ३ साउनमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका थिए । भन्सार एजेन्ट र ट्याक्सीचालक अशोक लामा सुनसँगै पक्राउ परेका थिए ।
यस प्रकरणका प्रमुख व्यक्ति र योजनाकारसमेतका रूपमा आशंका गरिएका भारतीय नागरिक राकेश अडुकिया नेपालबाट भागिसकेका छन् । नेपालमा सेयर, चाँदी, गाडीलगायतमा नामुद व्यापारी अडुकिया पक्राउ पर्ने डरले एक साताअघि नै भागिसकेको स्रोतहरूले बताएका छन् ।

