इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुआर्ट ब्रोडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । अस्ट्रेलियाविरुद्ध चलिरहेको पाँचौँ टेस्टको तेस्रो दिन खेलका क्रममै ब्रोडले सन्न्यासको घोषणा गरेका हुन् । सन् २००७ मा श्रीलंकाविरुद्धको टेस्टमा उनले डेब्यु गरेका थिए । इंग्ल्यान्डको क्रिकेट इतिहासमा ब्रोड सर्वाधिक विकेट लिने बलरमा पर्छन् । उनले एक सय ६७ टेस्टमा ६ सय २ विकेट लिएका छन् । बलिङका साथै ब्याटिङमा समेत उनको प्रदर्शन अब्बल छ । उनले टेस्टमा तीन हजार ६ सय ४७ रन जोडेका छन् । टेस्ट खेलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी पाँचौँ स्थानमा छन् ।
टेस्ट फम्यार्टमा तीव्र गतिका बलरमध्ये धेरै विकेट लिनेमा उनी दोस्रो स्थानमा पर्छन् । इंग्ल्यान्डकै जेम्स एन्डरसन शीर्ष स्थानमा छन् । उनले ६ सय ९० विकेट लिएका छन् । टेस्टमा श्रीलंकाका स्पिनर मुथैया मुरलिधरनले विश्व रेकर्ड राखेका छन् । उनले आठ सय विकेट लिएका छन् । यसैगरी, अस्ट्रेलियाका सेन वार्न दोस्रो स्थानमा छन् । उनले टेस्ट खेलमा सात सय आठ विकेट हात पारेका छन् । भारतका पूर्वकप्तान अनिल कुम्बलेको नाममा ६ सय १९ विकेट छ ।
पछिल्लो डेढ दशकदेखि इंग्ल्यान्डको फास्ट बलर जिम्मेवारी सम्हालेका ब्रोडको नाममा एउटा खराब इतिहास छ । सन् २००७ को टी–२० विश्वकपमा भारतका युवराज सिंहले उनीविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । सन् २०१० मा पाकिस्तानविरुद्ध लर्डस्मा उनले नवौँ क्रममा ब्याटिङ गर्दै १ सय ६९ रनको सानदार शतकीय इनिङ्स खेलेका थिए ।
इंग्ल्यान्डले सन् २०१० मा टी–२० विश्वकप हात पार्दा उनी महŒवपूर्ण सदस्य थिए । करिअरमा उनले ५६ अन्तर्राष्ट्रिय खेलमा ६५ विकेट लिएका छन् । सन् २०१४ पछि उनी इंग्लिस टोलीको टी–२० टोलीमा परेका थिएनन् । उनले १२१ एकदिवसीय खेलमा १ सय ७८ विकेट लिएका छन् । टी–२० र एकदिवसीयमा टोलीभित्र नरहे पनि उनी टेस्टमा सधैँ परेका छन् ।