हाम्रो दमकलको क्षमता कति छ ?
काठमाडौं महानगरपालिकाका तीनवटा स्टेसनमा आठवटा दमकल चालू अवस्थामा छन् । अग्ला भवनमा हुन सक्ने सम्भावित आगलागी नियन्त्रणका लागि हामीसित २५ र ३० मिटरका दुईवटा ‘ल्याडर’ छन् । साँघुरा गल्लीका लागि आठवटा फायर बाइक छन् । सडक दुर्घटनामा परेर कोही च्यापियो भने उद्धार गर्न एउटा रेस्क्यु ट्रक छ । चालू अवस्थाका दुईवटा रेस्क्यु जिप छन् । एउटा पानी ट्यांकर छ । हाम्रा दमकल बढीमा चार हजार लिटरसम्मको क्षमताका छन् ।
राजधानीलगायत ठूला सहरका अग्ला भवनलाई आगलागीबाट जोगाउन सक्छ त यसले ?
हाम्रो संस्थाको मुख्य काम नै आगो नियन्त्रण गर्नु हो । त्यसैले, हामीले सक्दैनौँ भन्न मिल्दैन । त्यसैका लागि हामी तयारी अवस्थामा हुन्छौँ । पछिल्लो समयमा बनेका अग्ला भवनभित्रै आन्तरिक रूपमा पनि अग्नि नियन्त्रणसम्बन्धी उपकरण र प्रविधि जडान गरिएका हुन्छन् । हामीसित जमिनबाटै एक सय फिट माथिसम्म पानी पुर्याएर आगो नियन्त्रण गर्न सक्ने क्षमता छ । साथै, ल्याडर प्रयोग गरेको अवस्थामा हामीले त्यसको दोब्बर माथिसम्मको आगो नियन्त्रण गर्न सक्छौँ । त्यसैले, हामी अग्ला भवनहरूलाई पनि आगलागीबाट जोगाउन सक्षम छौँ ।
दमकललाई थप सुविधासम्पन्न बनाउन के–कस्तो सुधारको खाँचो छ ?
हाम्रा उपकरण पुराना छन् । हामीलाई अत्याधुनिक उपकरणको खाँचो छ । विकसित मुलुकहरूमा ड्रोनको प्रयोग गरेर अग्नि नियन्त्रण गरिन्छ । हामीलाई पनि विश्वबजारमा प्रचलित अत्याधुनिक प्रविधि र उपकरणका साथमा समयानुकूल तालिमको खाँचो छ ।