बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाखभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्। लम्पी स्किनको संक्रमणका कारण चार हजार ६ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु संक्रमित भएका छन्।
निर्देशनालयका अधिकृत डा. सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया संक्रमित भएका जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ६ सय ८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन्।
सिन्धुलीमा ६ सय ५०, धादिङमा पाँच सय १३, मकवानपुरमा चार सय ४६, नुवाकोटमा चार सय ११, सिन्धुपाल्चोकमा तीन सय ६०, काठमाडौंमा तीन सय ५७, भक्तपुरमा दुई सय ९३, चितवनमा दुई सय ४२, रामेछापमा दुई सय २९, दोलखामा एक सय ७४ र रसुवामा एक सय ७३ पशुचौपायाको मृत्यु भएको डा. मिश्रले जानकारी दिए।
सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ३० हजार सात सय १४ पशुमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
कार्यालयको तथ्यांकअनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार चार सय ८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार तीन सय ९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार एक सय ४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार चार सय ५६, भक्तपुरमा ६ हजार चार सय १३, काठमाडौंमा पाँच हजार ३७, रसुवामा एक हजार आठ सय सात र ललितपुरमा एक हजार चार सय ३१ पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका छन्।
संक्रमित हुनेमा गाई एक लाख ४२ हजार सात सय २८, गोरु सात हजार चार सय ९५, भैँसी एक हजार आठ सय ६९ र बाच्छाबाच्छी एक हजार आठ सय १३ रहेका निर्देशनालयका अधिकृत डा. मिश्रले जानकारी दिए। उनका अनुसार गाई सबैभन्दा बढी संक्रमित भएका हुन्।
प्रदेशमा पहिलोपटक ०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ मा लम्पी स्किनको संक्रमित देखापरेको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखापरेको थियो।
रोग नियन्त्रणका लागि प्रदेशभरिका एक लाख १७ हजार नौ सय पाँच पशुलाई भ्याक्सिन लगाइएको छ। लम्पी स्किन रोगको संक्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरेनरी अस्पतालले जनाएको छ।