चीनले विश्वको सबैभन्दा लोकप्रिय खेलकुदको शक्ति बन्न एक दशकको अवधिमा अर्बौं खर्च गर्यो, तर त्यो लगानीको परिणाम भने सोचेअनुरूप देखिएन
एक दशकअघि चीनले विश्वको सबैभन्दा लोकप्रिय खेलको ‘पावरहाउस’ बन्ने एक महत्वाकांक्षी योजना ल्याएको थियो । चीनले सो योजनालाई राष्ट्रिय परियोजनाको रूपमा अँगालेको थियो । परियोजनाअन्तर्गत विद्यालयको पाठ्यक्रममा फुटबल विषयलाई समावेश गरियो । सन् २०२५ सम्म देशभर ५० हजार फुटबल स्कुल र दशौँ हजार मैदान बनाउन अर्बौं डलर विनियोजन गरिएको थियो । राष्ट्रपति सी जिनपिङ स्वयंको नेतृत्वमा गठित प्यानलले घोषणा गरेको यस परियोजनामा सरकारले आवश्यक जति पनि लगानी गर्ने बताएको थियो ।
सरकारको बलियो प्रतिबद्धताबाट उत्साहित भएर देशका ठूला व्यवसायी र धनाढ्यहरूले देशभित्र र बाहिरका व्यावसायिक फुटबल टिममा लगानी गर्न थाले । घरेलु टिममा महँगो रकम तिरेर विदेशी खेलाडी आकर्षित गर्ने खेल सुरु भयो । उत्साहको वातावरणमा चीनमा केही वर्षभित्रै विश्वकप आयोजना गर्ने गाइँगुइँसमेत चल्न थालेको थियो । बेइजिङका केही वृत्तमा चीनमा हुने विश्वकप घरेलु टोलीले जित्ने सम्भावनासमेत चर्चा हुन थालेको थियो ।
तर, एक दशकभन्दा छोटो समयमै चीनको ‘फुटबल शक्ति’ राष्ट्रिय परियोजना पूर्ण रूपमा असफल भएको छ । खेलाडीको महँगो स्थानान्तरणको समाचार मिडियामा देखिन छाडेको छ । घरेलु लिगका शीर्ष टिमसमेत टाट पल्टिएर भंग हुन थालेका छन् । यति ठूलो अभियानका बाबजुद चीनको पुरुष राष्ट्रिय फुटबल टिमको खेलमा सुधार हुन सकेन । फुटबल परियोजनाको असफलताको सबैभन्दा स्पष्ट संकेत फुटबलको प्रशासनिक निकायका केही शीर्ष अधिकारीहरूमाथि चलिरहेको भ्रष्टाचारको कारबाहीलाई लिन सकिन्छ ।
‘धेरै ठूलो आशा गरिएको थियो, त्यसै कारण पनि अहिले यति ठूलो निराशा देखिएको हो,’ सांघाई युनिभर्सिटी अफ स्पोर्टस्का अर्थशास्त्रका प्राध्यापक लिउ डोङफेङले भने । कुनै समय राष्ट्रिय अभियान चलाएर ओलम्पिक खेलहरूमा प्रभुत्व जमाउन सफल भएको चीनमा फुटबल परियोजना भने किन असफल भयो ? विश्वव्यापी महामारी र आर्थिक मन्दीको केही प्रभाव रहे । वास्तविक विश्वस्तरीय प्रतिभा भिर्याउन नसक्नु पनि परियोजनाको अवरोधको कारण बन्यो । त्यसमाथि खराब सम्झौता, भ्रष्टाचार र राष्ट्रिय टिमको फितलो प्रदर्शन पनि समस्या बढाउन जिम्मेवार रहे । कारणहरू जे भए पनि चिनियाँ फुटबलको अस्वस्थता सन् २०१५ मा विश्व फुटबल पावरहाउस भन्ने चीनको परियोजनाको ठीक उल्टो गतिबाट उत्पन्न भएको हो ।
प्रारम्भका उत्साहका दिनमा चिनियाँ कम्पनीहरूबीच अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा प्रायोजक बन्ने होड चलेको थियो । विश्वभरका प्रसिद्ध फुटबल क्लबहरूको सन्देश बोर्ड र टिसर्टहरूमा चिनियाँ प्रायोजन देखिन थालेको थियो । केही धनाढ्य चिनियाँ व्यक्ति र कम्पनीले देशको शीर्ष डिभिजन ‘सुपर लिग’का टिम खरिद गरे । तिनले विश्वव्यापी स्थानान्तरण बजारका केही प्रमुख खेलाडीलाई आफ्नो क्लब भित्र्याउन लगानी गरे । जीवनमा सायद पहिले चीनमा करिअर बनाउनेबारे विचारसमेत नगरेका खेलाडीहरू चीन जाने जहाज समात्न थालेका थिए ।
खेलाडी खरिदमा भइरहेको विशाल खर्चले पछि निम्त्याउन सक्ने समस्या रोक्न चिनियाँ नियामक संस्था सक्रिय भए । तिनले ढिलो गरी खेल उद्योग आवश्यकभन्दा बढी तात्नबाट रोक्न केही प्रतिबन्धहरू लगाए । तैपनि, ती कदमले सबैभन्दा खराब अभ्यासहरूलाई नियन्त्रण गर्न असफल भए । सन् २०२० को प्रारम्भमा कोरोना भाइरस महामारीले छोपेपछि चीनले कठोर नियन्त्रणहरू लागू गर्यो । त्यसपछि एकपछि अर्को ठूलो असफलता देखिन थाले । चीनका सबैभन्दा धनी व्यक्तिमध्ये एकको स्वामित्वमा रहेको टोली ‘जियाङ्सु सुनिङ एफसी’ धराशायी भयो । चीनको राष्ट्रिय फुटबल निकायका निर्देशक गाओ झिदानले उनको निकायका विभिन्न शीर्ष अधिकारी भ्रष्टाचार मुद्दा खेपिरहँदा अबका दिनमा प्रतिस्पर्धी लिग निर्माण र युवा प्रतिभा प्रवद्र्धनमा केन्द्रित हुने बताए । त्यसले कसरी काम गर्नेछ, स्पष्ट गरिएको छैन ।
– एजेन्सीको सहयोगमा