साइकल, क्रेट, ठेलागाडालगायतको बजार मूल्य करिब दुई करोड
देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाभित्र गरिखाने वर्गलाई ‘अलाउ’ छैन । भदौ ०७९ देखि सडक व्यापारीलाई खेदेको महानगरले जरिवानाबाट मात्रै १३ लाख कमाएको छ भने खोसेका सामानले महानगरको टेकुस्थित वातावरण विभागपरिसर भरिन लागेको छ ।
गत साउनयता काठमाडौं महानगरले सडक, गल्लीलगायत स्थानमा फुटकर व्यवसाय गर्ने आठ हजार दुई सयभन्दा बढीलाई धपाएको छ । उनीहरूबाट जरिवानास्वरूप १३ लाख २७ हजार राजस्व उठाएको छ । महानगरपालिका नगर प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार ०७९ साउनयता महानगरले सात सय ४६ वटा साइकल र आठ सय सातवटा ठेला गाडा जफत गरेको छ । जथाभावी फोहोर फाल्ने तथा सडकपेटी अतिक्रमण गर्ने सात सय ५६ जना पक्राउ गरेका छन् भने सात सय ११ जनामाथि कारबाही गरेको छ ।
राजन कार्की, प्रहरी निरीक्षक, महानगर प्रहरी बल
टेकुमा थुप्रिएका सामान लिलामीका लागि ६७ लाखको टेन्डर प्रक्रिया अघि बढाइसकेको छ । चैतयता जफत भएको सामान मात्रै लिलाम गर्न बाँकी छ । धेरै सामान लिलाम प्रक्रियामा अघि बढिसकेको छ । महानगरले जफत गरेको सामान महानगरको लिलाम समिति, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधि राखेर मूल्यांकन गरिन्छ ।
महानगरले फुटपाथ तथा सडकपेटीबाट बरामद गरेका ठेलागाडा र साइकल वातावरण विभागपरिसरमा कबाड बनेर थन्किएका छन् । साना व्यापारीबाट जफत गरेका ठेलागाडा र साइकलको लिलाम प्रक्रिया अघि बढाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार जफत सामान अहिले चाङ लगाएर राखिएको छ । व्यापारीले प्रयोग गर्ने अवस्थाकै सामान नगर प्रहरीले खोसेको थियो । टेकुमा थुप्रिएका साइकल, क्रेट, ठेलागाडाको बजार मूल्य हिसाब गर्दा झन्डै दुई करोड हुन आउने महानगरको राजस्व महाशाखाले जनाएको छ ।
फुटपाथ तथा सडकका गल्ली–गल्लीमा साइकल डुलाएर पेट पाल्नेमाथि महानगर गत भदौदेखि निर्मम बनेको थियो । त्यतिवेलादेखि नगर प्रहरीले साना व्यापारीबाट जबर्जस्ती सामान खोस्न थालेको थियो । गरिखाने भाँडो साइकल नै खोसेपछि कैयौँ साना व्यापारी विस्थापितसमेत भएका छन् । व्यापारीहरूबाट तरकारी, लत्ताकपडा, खाद्यान्नलगायत वस्तुसमेत बरामद गर्ने गरेको छ । व्यापारीबाट जफत गरिएको फलफूल, तरकारी, लुगा, चटपटेलगायत सामान टेकुमै लगेर थुपार्ने गरेको छ भने बिग्रने सामान बेच्छ । महानगरको लिलाम समितिकी संयोजक सरिता राईका अनुसार सार्वजनिक सूचना निकालेर लिलाम गरिन्छ ।
सात सय ४६ वटा साइकल जफत
०७९ साउनयता नगर प्रहरीले फुटपाथ र सडक व्यापारीबाट सात सय ४६ वटा साइकल खोसेको तथ्यांक छ भने सात सयवटा तरकारी तथा फलफूल राख्ने क्रेट बरामद गरेको छ । सोही अवधिमा २८ वटा आइसक्रिम बेच्ने गाडा खोसेको छ । त्यस्तै, एक हजार दुई सय बोरा खाद्यान्न र फलामजन्य वस्तु जफत गरेको छ । सडकमा अवरोध हुने गरी व्यापार गरेको भन्दै नगर प्रहरीले फुटपाथ व्यापारीलाई थप हर्जानासमेत तिराउने गरेको छ ।
६७ लाखको सामान लिलाम गर्दै महानगर
महानगरले टेकुमा थुप्रिका सामान लिलामीका लागि ६७ लाखको टेन्डर प्रक्रिया अघि बढाइसकेको महानगरका नगर प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार चैतयता जफत भएको सामान मात्रै लिलाम गर्न बाँकी छ । ‘धेरै सामान लिलाम प्रक्रियामा अघि बढिसकेको छ,’ उनले भने, ‘बाँकी सामानको पनि केही समयपछि लिलाम प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार महानगरले जफत गरेको सामान महानगरको लिलाम समिति, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधि राखेर मूल्यांकन गरिन्छ ।
फोहोर फाल्ने र निर्माण सामग्री राख्नेमाथि पनि कारबाही
यसबाहेक सार्वजनिक ठाउँमा फोहोर फाल्दा, निर्माण सामग्री राख्दा वा अन्य कुनै कारणले सडक वा फुटपाथ अवरोध गर्दा महानगरले चर्को जरिवाना तिराउने गरेको छ । जथाभावी फोहोर फाल्नेहरूबाट ०७९ साउनयता सात लाख ३३ हजार जरिवाना तिराएको छ । यस्तै, जथाभावी निर्माण सामग्री राखेर अवरोध गर्ने ३२ जनामाथि कारबाही गरी चार लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
अनधिकृत पार्किङबाट मात्रै एक करोड ८८ लाख राजस्व
एक वर्षयता महानगरले सवारी पार्किङमा पनि कडाइ गरेको छ । अनधिकृत पार्किङबाट एक करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यसबाहेक प्रशासनिक दण्ड जरिवाना, फोहोरमैला, जथाभावी निर्माण सामग्री फाल्ने, होर्डिङबोर्ड राख्नेमाथि पनि महानगरले कारबाही गर्दै आएको छ ।

टेकुमा थुप्रिएका सामान लिलामीका लागि ६७ लाखको टेन्डर प्रक्रिया अघि बढाइसकेको छ । चैतयता जफत भएको सामान मात्रै लिलाम गर्न बाँकी छ । धेरै सामान लिलाम प्रक्रियामा अघि बढिसकेको छ । महानगरले जफत गरेको सामान महानगरको लिलाम समिति, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधि राखेर मूल्यांकन गरिन्छ ।