नेपालले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा २९ खेलबाट दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ । एसियाडको तयारी र सहभागी सम्बन्धमा बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी संख्याको जानकारी गराएका हुन् ।
‘नेपालले २९ खेलमा २३४ खेलाडी सहभागी गराउनेछ, खेलाडीले एक्सपोजर प्राप्त गर्न नै खेलाडी निश्चित गरेका हौँ,’ निरीक्षणका क्रममा घिसिङले भने । उनका अनुसार एसियाडमा सहभागिता जनाउन सरकारबाट २१ करोड रुपैयाँ प्राप्त भइसकेको छ । ‘हामीले २४ करोड माग गरेका थियौँ, अहिले २१ करोडको सहमति प्राप्त भइसकेको छ, बाँकीका लागि प्रयास भइरहेको छ,’ उनले भने ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँगै घिसिङले प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गरेका हुन् । एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षणबारे उनीहरूले जानकारी लिएका छन् । चारै खेलको प्रशिक्षण दशरथ रंगशालामा भइरहेको छ । मन्त्री लिम्बूले खेलाडीको तयारीसँग सम्बन्धित विविध पक्षबारे जानकारी लिए ।
यसैबीच, एसियाडको तयारीमा खेलाडीहरूलाई कुनै प्रकारको समस्या उत्पन्न नगराउन सदस्यसचिव घिसिङले सम्बन्धित संघका पदाधिकारीलाई निर्देशन दिएका छन् । ‘खेलाडीको ‘प्लेइङ किट्स’का लागि संघलाई तयारी भनेका छौँ,’ उनले भने । संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहे आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेस गर्न सक्ने उनले जनाए ।
नेपालको तयारीमा आवश्यक पर्ने खेल सामग्रीको तुरुन्त विवरण तयार गरी प्रक्रिया अगाडि बढाउन उनले सचिवालयलाई निर्देशन दिएका छन् । निरीक्षणका क्रममा घिसिङले नेपाल ट्रायथलन संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसँग छलफल गरेका थिए । ‘परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नुपर्छ,’ उनले भने । एसियाडमा नेपालको सहभागिताका विषयमा परिषद् गम्भीर भएर अगाडि बढेको बताउँदै उनले समस्या आउँदा परिषद्सँग समन्वय गर्न आग्रह गरे ।
३ वैशाखदेखि तयारी
परिषद्ले एसियाडमा सहभागिता जनाउन ३ वैशाखदेखि तयारी सुरु गरेको हो । परिषद्ले पदकको सम्भावना बोकेका बक्सिङ, तेक्वान्दो र कराँतेलाई उच्च प्राथमिकतामा राखी प्रशिक्षण गराइरहेको छ । बक्सिङको टोली वैदेशिक प्रशिक्षण लिन बिहीबार भारततर्फ प्रस्थान गरेको छ । परिषद्ले एसियाड तयारी र छनोट प्रक्रियाअन्तर्गत पहिलो चरणमा चार सय २५ खेलाडी समावेश गरेको थियो । पहिलो र दोस्रो चरणपछि तेस्रो चरणमा छनोट भएका खेलाडीलाई पदक सम्भावनाअनुरूप वैदेशिक प्रशिक्षणमा समेत पठाउने योजना परिषद्को रहेको छ । ‘अन्तिम चरणमा छनोट भएका खेलाडी वैदेशिक प्रशिक्षणमा पठाइनेछ, यसका लागि परिषद्ले पहल गरिरहेको छ,’ घिसिङले भने । नेपालले ११ खेलबाट पदकको आशा गरेको छ ।
पूर्वविश्वच्याम्पियनको समूहमा नेपाल
एसियन फुटबल काउन्सिल (एएफसी)ले एसियाडको फुटबलतर्फको ड्र सार्वजनिक गरेको छ । एएफसीले जारी गरेको ड्रअनुसार नेपाली महिला फुटबल टोली निकै कठिन समूहमा परेको छ । नेपाल रहेको समूह ‘डी’मा फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको पूर्वविजेता जापान रहेको छ । यस समूहमा दक्षिण एसियाली महिला फुटबल च्याम्पियन बंगलादेश र भियतनासमेत रहेका छन् । जापान अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको फिफा महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको राष्ट्र हो । आधिकारिक रूपमा नेपालले पहिलोपटक जापानसँग अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर एसियाडमा पाएको छ ।
नेपालले ओलम्पिक छनोटमा भियतनामविरुद्ध खेलेको थियो । साफमा नेपाल र बंगलादेश एक–अर्कासँग परिचित छन् । एसियाडमा १७ महिला टोलीले भाग लिनेछन् । ड्रअनुसार पाँच समूहका शीर्ष टोली र तीन उत्कृष्ट उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । विश्व फिफा महिला वरीयतामा नेपाल १०१औँ स्थानमा छ । जापान एसियाली राष्ट्रमा दोस्रो तथा समग्र विश्वमा ११औँ स्थानमा छ । भियतनामले विश्व वरीयतामा ३२औँ स्थान पाएको छ । नेपाली राष्ट्रिय महिला टोलीले एसियाडको तयारी गर्न दुई साताअघि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले बंगलादेशलाई टाइब्रेकरमा हराउँदै सिरिज जितेको थियो । पछिल्लो दुई महिनादेखि नेपाली महिला टोली एसियाडको तयारीमा लागेको छ । महिला खेलाडीलाई अखिल नेपाल फुटबल संघ र राखेपका प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।
भलिबलमा कठिन समूह
एसियाडमा सहभागी हुने नेपालको महिला तथा पुरुष टोली कठिन समूहमा परेका छन् । महिलातर्फ नेपाल समूह ‘सी’मा रहेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामको सामना गर्नेछ । एसियालीस्तरमा दक्षिण कोरिया र भियतनाम बलिया राष्ट्र हुन् ।
विश्व महिला भलिबल वरीयतामा दक्षिण कोरिया ३५औँ र भियतनाम ४७औँ स्थानमा छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघको वरीयतामा नेपाली महिला टोलीले वरीयता नै पाएको छैन । यसैगरी, पुरुषतर्फ नेपाल समूह ‘बी’मा छ । यस समूहमा नेपालले एसियाकै बलियो इरान र बहराइनविरुद्ध खेल्नेछ । पुरुषतर्फको विश्व वरीयतामा इरान दशौँ र बहराइन ७६औँ स्थानमा छन् । महिलाझैँ पुरुष टोलीले पनि वरीयता प्राप्त गरेको छैन ।