एक वर्षमै १६ अर्बभन्दा बढीको फलफूल आयात

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिरहेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।

सात अर्ब बढीको स्याउ आयात
विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्यबराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ। त्यसबाट सरकारले रु ८६ करोड ८३ लाख ८९ हजारबराबरको राजस्व संकलन गरेको छ। 

सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ। चीनबाट मात्र रु पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्यबराबरको स्याउ आयात भएको छ। त्यस्तै, भारतबाट रु एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट रु ५० लाख ३४ हजार, स्विजरल्यान्डबाट रु २७ लाख २० हजार मूल्यबराबरको स्याउ आयात भएको विवरण छ। 

अंगुर आयातमा दुई अर्ब बाहिरियो
गत आवमा मुलुकमा रु दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्यबराबरका तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी अंगुर आयात भएको छ। त्यसबाट सरकारले रु ११ करोड एक लाख ७० हजारको राजस्व संकलन गरेकोे छ।

ताजा अंगुर सबैभन्दा धेरै भारतबाट रु दुई अर्ब १३ करोड ७६ लाख ६५ हजारबराबर तथा चीनबाट रु दुई करोड १२ लाख तीन हजारबराबरको आयात भएको छ।

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
विभागका अनुसार गत आवमा रु एक अर्ब ६२ करोड ७३ लाख ९९ हजारबराबरको केरा आयात भएको छ। कुल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व संकलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ। 

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ। जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ।  
    
सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजारबराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ। त्यस्तै, एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ। साथै, दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजारबराबर रकम बाहिरिएको छ।      

नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ। विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ। मेवाको आयात मूल्य  रु ३० करोड ९० लाख ८१ हजारबराबर छ । 

यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजारबराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ। 

त्यस्तै, रु नौ करोड ४५ लाख ७८ हजारबराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोकाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजारबराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ। रासस

सुझावित समाचार