अझै जीवित छन् ओपेनहाइमरका आणविक भय

आणविक जोखिमका मामिलामा अमेरिका र रुस सबैभन्दा ठूला पक्ष हुन्, यी मुलुकसँग विश्वका करिब ९० प्रतिशत आणविक हतियार छन्

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

रोबर्ट जे ओपेनहाइमरको प्रभाव २१औँ शताब्दीमा पनि जारी छ । हामी अझै पनि उनको हात रहेको सन् १९४५ को आणविक युगमा छौँ र हामी उनले जस्तै सामूहिक विनाशका हतियारबाट उत्पन्न हुने खतरा व्यवस्थापन गर्ने नैतिक र राजनीतिक चुनौतीको सामना गरिरहेका छौँ ।

ओपेनहाइमरको जीवन र विरासतबारे क्रिस्टोफर नोलनको पछिल्लो चलचित्रले आणविक खतराबारेको सार्वजनिक बहसलाई पुनर्जीवित गरिदिएको छ । ओपेनहाइमर आफैँले सिर्जना गरेको प्रविधिको भयानक शक्तिसँग डराएका थिए । ओपेनहाइमरको भयले ती विश्व नेता र नागरिकलाई झकझक्याउनुपर्छ, जसले विश्वकै अस्तित्वलाई जोखिममा पार्ने गरी डरलाग्दो दम्भ र भाग्यवादको प्रदर्शन गर्छन् । 

सन् २०१२ को जुन महिनामा जेनेभामा दुवै मुलुकका राष्ट्रपति जो बाइडेन र भ्लादिमिर पुटिनबीचको छोटो भेटपछि आणविक हतियार कटौतीका लागि पहलकदमी हुने आशा गरिएको थियो । तर, युक्रेन युद्धले पहलकदमीको सम्भावनालाई निकै पर सारेको छ । अमेरिका–रुस वार्ता नहुँदा बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने अबको भेटमा आणविक जोखिमलाई कम गर्ने विषयलाई प्राथमिकता दिन अत्यावश्यक छ । यस विषयमा यदि कुनै प्रगति हुन्छ भने यसले चीन–अमेरिका अविश्वासलाई कम गर्न र समग्र भूराजनीतिक स्थिरता बढाउन योगदान पुर्याउन सक्छ ।

शीतयुद्धपछि सबैभन्दा बढी आणविक जोखिम अहिलेकै समयमा देखिएको छ र यो अवस्थामा सबै नेताले जिम्मेवारी वहन गर्नुपर्छ । किशोरी छँदा मलगायत हजारौँ मानिस ‘बम’को विरोधमा सहभागी भएका थियौँ । र, अहिले म हजुरआमा हुँदा पनि मेरा नाति–नातिनाले अझै उही आणविक युद्धको डरको सामना गरिरहेको देख्दा म निकै निराश छु ।

‘आजका आन्दोलनकारी कहाँ छन् ?’ म आफैँलाई प्रश्न गर्छु । यो मौनता असह्य छ । आणविक हतियारविरुद्धको निषेधको क्षय, पुटिनको खुला धम्की, रुस र अमेरिकाबीचको आणविक हतियार नियन्त्रणको विघटन र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ अस्थिर प्रविधिको उदयले जोखिमलाई डरलाग्दो तहमा पुर्याइदिएको छ । हतियार विस्तार गर्ने चीनको निर्णय, पाकिस्तानको राजनीतिक अस्थिरता, उत्तर कोरियाले राष्ट्र संघीय सुरक्षा परिषद्को अवहेलना र मध्यपूर्व तनावले खतरनाक दबाब थपेको छ । 

विगतका ८० वर्षमा आणविक हमला भइहाल्छन् कि भन्नेजस्ता कैयौँ घटना व्यहोरिसकेका भए पनि हामी विनाशबाट पक्कै जोगिएका छौँ । तर, हामी जोगिनुका पछाडि भाग्यले काम गरेको छ, न कि राजनीतिक नेतृत्वको सुझबुझले । आणविक हतियार प्रयोगविरुद्ध एक मात्र साँचो आश्वासन यी हतियारको पूर्ण उन्मूलन नै हो । यद्यपि विश्वका आणविक शक्तिले आफ्नो सुरक्षा रणनीतिमा आणविक हतियारको भूमिकालाई सुदृढ गर्दै आफ्ना हतियारको विस्तार र आधुनिकीकरण जारी नै राखेका छन् । अमेरिका र रुस हालको अवस्थाका लागि सबैभन्दा ठूला पक्ष हुन्, किनभने यी मुलुकसँग विश्वका करिब ९० प्रतिशत आणविक हतियार छन् र यिनले हालैका दशकमा आणविक हतियार नियन्त्रणलाई कमजोर पार्ने जोखिमपूर्ण काम पनि गरेका छन् । त्यसमाथि चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र बेलायतजस्ता अन्य आणविक राष्ट्रले पनि आफ्नो आणविक क्षमता विस्तार गरिरहेका छन् ।

वर्तमान परिस्थितिलाई हेर्दा निकट भविष्यमा समूल आणविक निःशस्त्रीकरण सम्भव देखिँदैन । तसर्थ, तत्कालको प्राथमिकता आणविक प्रकोपको जोखिम कम गर्न परमाणु राज्यबीच संवाद जरुरी छ । पहिलो महत्वपूर्ण चरणमा नयाँ अमेरिका–चीन जोखिम न्यूनीकरण संवाद स्थापना गर्नु र अमेरिका–रुस आणविक वार्तालाई पुनर्जीवित गर्नु हो । मैले हाल नेतृत्व गरिरहेको गैरसरकारी संस्था एल्डर्सले एक आणविक न्यूनीकरण एजेन्डा राखेको छ । यो संस्थाले आणविक न्यूनीकरणको दिशामा अगाडि बढ्नका लागि रचनात्मक रुपरेखाका रूपमा काम गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौँ ।

आणविक राज्यलाई निरन्तर अन्तर्राष्ट्रिय दबाब नदिईकन आणविक खतरालाई सम्बोधन गर्न सम्भव छैन । यो दबाबका लागि आणविक शक्तिराष्ट्रको अनुमानलाई चुनौती दिन सार्वजनिक संलग्नता र तल्लो तहको सक्रियता बढाउन आवश्यक छ । आणविक बमको उत्पत्तिलाई लिएर बनेको महत्वपूर्ण चलचित्रको प्रदर्शन सम्भावित रूपमा यो महत्वपूर्ण मुद्दामा व्यापक बहस सुरु गराउन सहयोगी हुनेछ ।

निश्चय नै वर्तमान अवस्थामा विभिन्न जोखिम मौजुद छन्, तर हामी निराश भइहाल्ने अवस्था छैन । ओपेनहाइमरले परिकल्पना गरेझैँ आणविक जोखिम न्यूनीकरणमा प्रगति हासिल गर्न सकिन्छ र यसलाई इतिहासले प्रमाणित गरेको छ । आणविक हतियारको संख्या उल्लेखनीय रूपमा घटेको छ । ५० वर्षपहिले गरिएको आणविक हतियारको अप्रसारसम्बन्धी सन्धिका कारण सन् ८० को दशकको मध्यमा करिब ६५ हजारको संख्यामा रहेका आणविक हतियार हाल १२ हजार पाँच सयमा झरेका छन् ।

निरन्तर विश्वव्यापी नेतृत्व र संवादले यस मामिलामा थप प्रगति हासिल गर्न सकिन्छ । नोभेम्बर १९४५ मा एसोसिएसन अफ लस एलामोसका वैज्ञानिकलाई बिदाइ समारोहमा ओपेनहाइमरले गरेको सम्बोधनमा उनले ‘परमाणु हतियार एक खतरा हो, जसले संसारमा सबैलाई असर गर्छ..., मलाई लाग्छ कि यो साझा समस्यालाई सम्बोधन गर्नका लागि सामुदायिक जिम्मेवारीको पूर्ण दायित्वबोध हुनुपर्छ’ भनेका थिए । यी विवेकपूर्ण शब्द महत्वपूर्ण छन् र यिनले आणविक जोखिम नियन्त्रण गर्न हाम्रो संयुक्त प्रयासलाई उत्प्रेरित गर्नुपर्छ । तब मात्र ओपेनहाइमरले चिन्ता गरेको हिरोसिमा र नागासाकीजस्तै वा त्योभन्दा ठूला त्रासदीलाई दोहोरिनबाट रोक्न सकिन्छ । 
(रोबिन्सन आयरल्यान्डकी पूर्वराष्ट्रपति एवं द एल्डर्स समूहकी अध्यक्ष हुन्) टाइम म्यागेजिनबाट

सुझावित समाचार