भूकम्पअघि कोदारी सडकले जेनतेन अन्तर्राष्ट्रिय नाका तातोपानीको भार थेगेको थियो । तर, वर्तमान अवस्था निकै जोखिमपूर्ण चलिरहेको छ ।
चीनको न्यालम काउन्टीअन्तर्गत रहेको व्यापारिक बजार जांमु (खासा)बाट दैनिक आउने कन्टेनर जब नेपालपट्टि प्रवेश गर्छन्, तब चालकले जीवन हत्केलामा राखेर चलाउनुपर्छ । यो कठिन परिस्थितिको जानकारी नेपाल सरकारलाई नभएको पनि होइन । यद्यपि, यसतर्फ सरकारका कुनै पनि निकायले ध्यान दिइका छैनन्।
नेपाल–चीनबीच महिनामा दुईपटकसम्म सीमा सुरक्षासम्बन्धी बैठक हुन्छ । नाका खुलाउने भनेर वाणिज्य, अर्थ, गृहसँग सम्बन्धित प्रतिनिधि र विभिन्न राजनीतिक दलका नेता वेलावेलामा तातोपानी पुग्छन्। नाका खुलाउन पहलकदमी गरेको भनेर सामाजिक सञ्जालमा फोटो पनि पोस्ट गर्छन्। तर, नाकामा पुग्ने जोकोही बाढीपहिरोले खियाएको जीर्ण सडकमा रहेका दर्जनौँ अवरोध छिचोल्दै घन्टाैँ लगाएर तातोपानी पुग्नुपर्ने बाध्यता छ। बाह्रबिसेबाट बिहानै हिँडेका स्थानीय पाँच सय भाडा तिरेर बेलुकी घर पुग्छन्, जब कि सडक २६ किलोमिटर मात्रै लामो छ। बाह्रबिसे बजारबाट तातोपानीतर्फ जाने सवारीसाधनले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले बढी भाडा लिने स्थानीय बताउँछन्।
सडक डिभिजन कार्यालय चरिकोटले बाटो सफा गर्न एउटा लोडर र एउटा ट्रकलाई नियमित काममा खटाएको छ। सडकभरि पहिरो, जताततै बाढीको कटान र कतिपय ठाउँमा सडक भासिएकाले सुधार गरेर साध्य नै छैन। भूकम्प र बाढीले ढालेर बाँकी रहेका सडक किनारमा अवस्थित घरका भग्नावशेषसमेत हटाइएको छैन । अध्यागमन कार्यालय कोदारीमा कार्यरत कर्मचारी स्थानीय तिलक मगरका अनुसार लिपिङमा २०, कोदारीमा १५, तातोपानीमा १०, लार्चादेखि बाह्रबिसेको जम्बुसम्म करिब ५० घरको भग्नावशेष हालसम्म जस्ताको तस्तै छ।

कतिपय घरको ढल्न बाँकी आधा भाग कतिवेला लड्छ ठेगान छैन। नाका पुग्ने सवारी र यात्रु ढल्न बाँकी भग्नावशेष चियाउँदै सडक पार गर्छन्। नाकामा सरकारी कार्यालयहरू अध्यागमन र क्वारेन्टिन, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य संघ, नेपाल–चीन मितेरी व्यापार संघ र अरू विभिन्न व्यापारिक संघसंस्थाहरू पुनर्स्थापित हुन सकेका छैनन् । ‘तत्काल कुनै संघसंस्था पुनर्स्थापित हुने सम्भावना छैन,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने । नाकाबाट मानिस आवतजावत सुरु हुनासाथ कार्यालयहरू स्थापित हुने उनले बताए ।
‘माथिल्लो निकायबाट पूर्वाधारको क्षेत्रमा बजेट छुट्याउनुपर्ने आवश्यकता छ,’ जोखिमपूर्ण सडक तय गरेर सीमाक्षेत्र तातोपानी पुगेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘सडक र भौतिक पूर्वाधारको अवस्था अत्यन्तै कमजोर छ।’ कोदारी सडक सुधारका लागि सरकारले बजेट विनियोजन गर्नेमा उनी आशावादी छन्। गत महिना चीनको ल्हासा पुगेका न्यौपानेले त्यहाँस्थित महावाणिज्यदूत नवराज ढकालसँग गएर चिनियाँहरूको विभिन्न फोरममा तातोपानी नाकाबारे यथार्थ चित्र प्रस्तुत गरेका छन्।
‘नाकाको अवस्था र भावी सम्भावनाबारे मैले चिनियाँको सानाठूला सबै फोरममा स्पष्ट कुरा राखेको छु । चिनियाँहरू तातोपानी नाका पूर्ववत् खुलाउन लागिरहेका छन् । यो नाका मित्रराष्ट्र चीनको प्राथमिकतामा छ,’ उनले प्रस्ट्याए । नेपालपट्टिको पूर्वाधार जस्तो भए पनि चिनियाँहरू खासा पुनर्निर्माणमा जुटिरहेका छन् । साउनदेखि खासा क्षेत्रको सम्पूर्ण पुनर्निर्माण सुरु भएको छ । आउँदो डिसेम्बरसम्म खासाका स्थानीयलाई पुनर्स्थापना गर्ने सरकारको लक्ष्य रहेको खासास्थित चिनियाँ विदेश विभागले जनाएको छ ।
खासाली चिनियाँ अधिकारीले दिएको जानकारीअनुसार आउँदो सेप्टेम्बरबाट भोटेकोसीका स्थानीयलाई खासाभन्दा तल रमितेसम्म प्रवेश गर्न दिने योजना छ । चिनियाँ क्षेत्रको रमितेमा बनाइएको कस्टम यार्डमा केही दिनअघि नेपाली कन्टेनर प्रवेश गराएर परीक्षण गरिएको थियो। नाका नखुल्दा सीमा क्षेत्रका अधिकांश मानिस राजधानी र विदेश गइरहेको सूचना पाएपछि चीनले तातोपानीबाट आयात, निर्यात र सर्वसाधारणको आवतजावत सहज बनाउने तयारी गरेको हो।