चीनले गत एक महिनादेखि सार्वजनिक रूपमा देखिन छाडेका विदेशमन्त्री छिन गाङलाई सो पदबाट हटाएको छ । चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको संसद (राष्ट्रिय जनकंग्रेस)को स्थायी समितिको विशेष अधिवेशनले मंगलबार छिन गाङलाई पदबाट हटाउने र उनको स्थानमा वरिष्ठ पार्टी नेता वाङ यीलाई सो पदमा नियुक्त गर्ने पक्षमा मतदान गरेको छ ।
पाँच हप्ताअघि मात्र छिनले अमेरिका–चीन सम्बन्धलाई पुन ट्रयाकमा ल्याउने विषयमा बेइजिङमा अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनसँग घनीभूत छलफल गरेका थिए । त्यस भेटमा छिनले ब्लिनकेनको अमेरिका भ्रमणको निमन्त्रणासमेत स्विकारेका थिए । एक महिनाभित्रै सी जिनपिङनजिकका भरपर्दो ‘उदाउँदो तारा’का रूपमा हेरिएका एक कूटनीतिज्ञको करिअर समाप्त भएको छ ।
छिन अन्तिमपटक जुन २५ मा श्रीलंकाली समकक्षीसँग देखिएका थिए । उनको सार्वजनिक अनुपस्थितिबारे विभिन्न अडकल काटिन थालेपछि चीनको विदेश मन्त्रालयले छिन ‘स्वास्थ्यका कारण’ आराम गरिरहेको प्रतिक्रिया दिएको थियो । तर, चीनमा वरिष्ठ अधिकारी नियुक्त गर्ने राष्ट्रिय जनकंग्रेसको स्थायी समितिले गरेको मंगलबारको संक्षिप्त घोषणामा भने छिनको ‘स्वास्थ्य’ वा ‘अन्य कुनै कारण’ उल्लेख छैन । छिनको बर्खास्तीमा अमेरिकाको राजदूत हँुदा उनको एक चिनियाँ टिभी पत्रकारसँगको अफेयर मुख्य कारण हुन सक्ने ताइवान र हङकङका प्रेसले लेखेका छन् । तथापि, चिनियाँ मिडिया र जनकंग्रेसले यस प्रकरणको पनि उल्लेख गरेका छैनन् ।
५७ वर्षीय छिन सन् २०२१ जुलाईमा वासिङटनका लागि चीनको राजदूतमा नियुक्त गरिएका थिए । त्यसको १७ महिनापछि उनको विदेशमन्त्रीमा बढुवा गरिएको थियो । त्यतिवेला छिनको तीव्र उदयमा उनी सीको विश्वासपात्र हुनु मुख्य कारण रहेको विश्लेषण गरिएको थियो । छिनले विदेश मन्त्रालयका प्रवक्ता, लन्डनमा कूटनीतिज्ञको रूपमा काम गरेका थिए । विदेशमन्त्रीको छोटो कार्यकालमा छिन चीनलाई कोभिडयुगको कूटनीतिक एक्लोपनबाट बाहिर निकाल्न र अमेरिका तथा अन्य पश्चिमी देशहरूसँगको बिग्रदो सम्बन्ध सुधार गर्ने प्रयासमा सक्रिय रहेका थिए ।
वाङ यी पुनः विदेशमन्त्री
नवनियुक्त ६९ वर्षीय विदेशमन्त्री वाङ यी चीनभित्र एक सम्मानित कूटनीतिज्ञ मानिन्छन् । उनी छिनअघि चीनका विदेशमन्त्री थिए र छिनले विदेश मन्त्रालय सम्हाल्दा वाङ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला आयोगको नेतृत्वमा थिए । सो आयोगमातहतमा विदेश मन्त्रालय राखिएको थियो । वाङ राष्ट्रपति सीको प्रमुख विदेश मामिला सल्लाहकारको भूमिका निभाइरहेका थिए ।