आमजनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै सत्तारूढ ६ दलका कार्यकर्ताले रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी र लोसपाका नेता कार्यकर्ताले संयुक्त रूपमा प्रदर्शन गर्दै कारबाहीको माग गरेका हुन् ।
गौर हत्याकाण्डसहित विभिन्न हत्यामा साह संलग्न रहेको आरोप लगाउँदै सत्तारूढ दलका रौतहटस्थित नेता–कार्यकर्ताले कारबाहीको माग गरेका हुन् । यसअघि गत १ साउनमा साह नेतृत्वको पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्न माग गरेको थियो । साह रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीमार्फत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाए । उनीहरूले साह गौर हत्याकाण्डको मुख्यदोषी, ३ असार ०६८ मा कुस्ती खेलाडी उपेन्द्रदास वैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारीलगायतका हत्यामा पनि संलग्नता रहेको आरोप लगाएका छन् ।
गत १ साउनमा साह नेतृत्वको आमजनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो । ७ चैत ०६३ मा मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारबाही नभएको भन्दै आमजनता पार्टीले १ साउनमा प्रदर्शन गरेपछि ६ दलले संयुक्त रूपमा साहकै विरुद्धमा प्रदर्शन गरेका हुन् ।