होटेलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बाग्लुङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
बाग्लुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज पौडेल मृत फेला परेको स्थानको होटेल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाग्लुङ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
घटना शंकास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ।
यस्तै, मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको शव परीक्षणका लागि बाग्लुङ ल्याउने तयारी थालिएको छ। शवको गहिरो र विस्तृत अनुसन्धानका लागि धौलागिरि अस्पताल र आवश्यक परेमा पोखरासमेत पठाइने प्रहरीको भनाइ छ।
आशा होटेल एन्ड खाजाघरमा गए राति प्रहरी इन्चार्ज पौडेल मृत फेला परेका थिए। प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ। प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रहरी गहिरो अनुसन्धानमा छ, प्रहरी इन्चार्जको नै यस्तो अवस्था हुनु निकै दुःखद् हो, घटना शंकास्पद देखिन्छ, प्रहरी घटनाको विषयलाई छिट्टै बाहिर ल्याउन लागिपरेको छ।’