न्यायिक प्रणाली परिमार्जन विधेयक पारित भएपछि इजरायलमा व्यापक असन्तुष्टि

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण
न्यायिक प्रणाली परिमार्जन विधेयक पारित भएपछि इजरायलमा व्यापक असन्तुष्टि

तस्बिर : एएफपी

इजरायली संसद्ले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेसँगै नागरिकमा व्यापक असन्तुष्टि छाएको छ।

लगातार २९ हप्तासम्म भएको विरोध प्रदर्शनका बाबजुद विधेयक पारित भएकामा आमनागरिक आक्रोशित भएका छन्। विवादास्पद न्यायिक सुधार विधेयकमा सदनमा नै स्पष्ट विभाजन भए पनि मतदानमार्फत पारित भएपछि पेसाकर्मीलगायत सर्वसाधारण आमहडताल र विरोध प्रदर्शनको तयारीमा जुटेका छन्। इजरायली दुई खेमामा विभाजित भएका छन् भने इजरायलका विदेशी सहयोगीले विधेयक पारित भएकामा त्यसको आलोचना गरेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कट्टर दक्षिणपन्थी सरकारले सोमबार विधेयक पारित गरेपछि त्यसको विरोधमा आज चिकित्सक प्रदर्शनमा उत्रेका छन्। विपक्षीहरूले पनि सडकमा उत्रन आह्वान गरेका छन् जसले कानुन कार्यान्वयनमा चुनौती थपेको छ भने सडकमा झडप निम्त्याएको छ। इजरायल मेडिकल एसोसिएसनका प्रमुख सियोन हागेले काम नगर्ने घोषणा गर्दै विरोध जनाएका छन्।

सोमबार मतदानअघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नुका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए। विधेयकको विरोधमा जेरुसेलम र तेलअविभमा पनि प्रदर्शन भएका थिए। संसद् भवनबाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झण्डा फहराउँदै जुलुस निकालेका थिए। प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो। 

मतदानपछि संसद्लाई सम्बोधन गर्दै न्यायमन्त्री यारिभ लेभिनले न्यायिक प्रणालीलाई सुधार गर्ने र सरकारलाई शक्ति फिर्ता गर्ने ऐतिहासिक प्रक्रियाको पहिलो चरण भन्दै त्यसको स्वागत गरेका थिए।

See More On

सुझावित समाचार