सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।
काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो।
स्थानीयले सो स्थानमा साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्। महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।
पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतिसमेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रम धार्मिक स्थलमा मात्रै गर्न अनुरोध गरे। यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरूले महोत्सव गरेको बताएका थिए।
नगरप्रहरी र स्थानीयबीचमा केहीबेर भनाभनसमेत भएको थियो। आफूहरूले लिखित रूपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने, तर नरोक्ने स्थानीयले बताएका छन्।