आर्थिक वर्ष ०७९/८० मा सेवामूलक क्षेत्रका ६६ उद्योग दर्ता भएका छन् । यी उद्योगले ३० अर्ब ८१ करोड लगानी गर्ने प्रतिबद्धता छ । ठूला इन्भेस्टमेन्ट कम्पनी, नयाँ वायुसेवादेखि एभिएसन कलेजसम्म सञ्चालनमा ल्याउने प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा सेवामूलक उद्योगको दर्ता संख्या बढेको देखिन्छ भने लगानी प्रतिबद्धता भने घटेको छ ।
उक्त आर्थिक वर्षमा सेवामूलक क्षेत्रका ४६ उद्योग दर्ता भएका थिए, जसमा ४६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको थियो । गत वर्ष आन्तरिक उडान गर्ने गरी उद्योग विभागमा दर्ता भएको नयाँ वायुसेवा कम्पनी शिवम् एयरको करिब ८५ करोड रुपैयाँ पुँजी छ, जसले वर्षमा तीन हजार ८८ घन्टा सेवा प्रदान गर्ने जनाएको छ । अहिले आन्तरिक उडानतर्फ नौवटा वायुसेवा (जहाज) कम्पनी सञ्चालनमा छन् । यस्तै, स्वदेशमै पाइलट, एयर ट्राफिक कन्ट्रोलर (एटिसी), एयरक्राफ्ट इन्जिनियरदेखि क्याबिन क्रुसम्म उत्पादन गर्ने गरी क्यानेडियन एभिएसन कलेज नेपाल दर्ता भएको छ ।
पोखरा महानगरपालिका–९ मा रहने कलेज २६ भदौमा दर्ता भएको उद्योग विभागले जनाएको छ । साढे ३४ करोड पुँजी रहेको कलेजले वार्षिक ५० जना जहाजका पाइलट, १५ जना हेलिकोप्टर पाइलट, ७५० जना इन्जिनियर, एटिसी, फ्लाइट डिस्प्याचर, एयर क्याबिन क्रु, एयरक्राफ्ट ह्यान्डलिङ, फायर फाइटिङ, ग्राउन्ड ह्यान्डलिङका जनशक्ति उत्पादन गर्ने बताएको छ । ६२ प्रतिशत स्वदेशी र ३८ प्रतिशत विदेशी लगानी रहने एभिएसन कलेजले ६५ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ ।
यसैगरी, २८ चैतमा करिब ६ अर्ब पुँजीको भूमि इन्फ्रास्ट्रक्चर कम्पनी, २६ भदौमा पाँच अर्ब ५० करोड पुँजीको शिवम् होल्डिङ्स लिमिटेड र ३० चैतमा बोर्डरलेस कन्सल्टिङ कर्पोरेसन इन्भेस्टमेन्ट कम्पनी नेपाल दर्ता भएका छन् । गत आर्थिक वर्षमा चारवटा लजिस्टिक (कार्गो) कम्पनी दर्ता भएका छन् । यस्तै, १६ माघमा मुस्ताङ हेलिकोप्टर दर्ता भएको छ । करिब ५० करोड पुँजी रहेको हेलिकोप्टरले वर्षमा १२ सय घन्टा सेवा दिने प्रतिबद्धता जनाएको छ । यो हेलिकोप्टर अहिले सञ्चालनमा छ ।