चोभार बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइँदै

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

 चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि भन्दै सोमबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

 आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका निजी कम्पनीमार्फत चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गराउन अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । छनोट हुने कम्पनीले आगामी पाँच वर्ष बन्दरगाह सञ्चालन गर्न पाउनेछ । 

४५ दिन समय दिइएको बोलपत्र बुझाउने अन्तिम २२ भदौ ०८० रहेको छ । बोलपत्रमा सहभागी हुन पोर्ट म्यानेजमेन्ट, कन्टेनर फ्रेट स्टेसन म्यानेजमेन्ट, फ्रेट टर्मिनल म्यानेजमेन्ट, वेयरहाउस, ट्रान्सपोर्टेसन, क्लियरिङ एन्ड फरवार्डिङ, फ्रेट फरवार्डिङमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्नेछ । त्यस्तै, विगत तीन वर्षको औसत वित्तीय कारोबार कम्तीमा वार्षिक ६० लाखबराबरको हुनुपर्ने प्रावधान राखिएको छ ।

‘कानुनमा अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरी आर्थिक तथा प्राविधिक दृष्टिकोणले सक्षम ठहरिएका कम्पनीबाट सरल, सुगम, किफायती एवं भरपर्दाे सेवा सञ्चालन गर्न–गराउन टर्मिनलको व्यवस्थापन तथा सञ्चालन गराउने सम्बन्धमा सम्झौता गरी त्यस्तो कम्पनीलाई टर्मिनल व्यवस्थापन तथा सञ्चालन गर्नका लागि स्वीकृति दिने भनिएको छ,’ उनले भने, ‘सोही व्यवस्थाअनुसार अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिएको हो ।’

सुझावित समाचार