बुटवलमा बहुतले पार्किङ भवनका लागि लगानी सम्झौता

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

बहुतले पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ। बुटवल– ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवनका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले गर्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

१५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भई प्रतिवेदन पेस गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ।

लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए। बाँकी प्रक्रिया पूरा गरी निर्माणको लागि ठेक्का प्रक्रियामा जाने उनको भनाइ छ। साततले पार्किङ भवनमा एकसाथ करिब २ सय हलुका सवारी पार्किङ गर्न सकिने उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए।

पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने उपमहानगर प्रमुख पाण्डेयले बताए। ‘बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यो पार्किङ भवन बनेपछि बुटवलका सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्नेछ। यसले बुटवललाई अझै व्यवस्थित सहरका रूपमा स्थापित गर्न मद्दत गर्छ।’

सुझावित समाचार