राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले स्थापनाको ३४औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरेको छ । संघले रक्तदान, विभिन्न प्रकारका खेलकुद प्रतियोगिता तथा सांस्कृतिक साँझ आयोजना गरेको हो ।
संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीले रक्तदान गरेको जनाइएको छ । त्यस्तै, गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्यांकनमा उष्कृष्ट भएबापत रनिङ शिल्ड प्रदान गरिएको संघल जनाएको छ । यसका साथै बैंकले म्युजिकल चेयर प्रतियोगिता तथा राबिया नेपाल रिलिफ फन्डको सहयोगार्थ शनिबार काठमाडौंमा राबिया सांस्कृतिक साँझ–२०८० समेत आयोजना गरेको जनाइएको छ ।
वार्षिकोत्सवको मूल कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले उत्कृष्ट कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानहरूका कर्मचारीको सेवा–सुविधा वृद्धिमा सरकारले सहयोगपूर्ण रूपमा हेर्ने नीति लिनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीहरूको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हकहितका लागि सम्पूर्ण पेसाकर्मीहरू एक हुनुपर्नेे बताए । कार्यक्रममा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्वअध्यक्ष शिवकुमार अधिकारीलगायतले शुभकामना दिएका थिए ।