शास्त्रमा निपुण एक प्रसिद्ध ज्ञानी सन्त देवाचार्यको आश्रममा बसेर केही छात्र अध्ययन गर्दै थिए । तीमध्ये महेन्द्र नामका शिष्य अन्य शिष्यभन्दा ज्ञानार्जनमा निकै तेज थिए । एक दिन उनी आफ्ना मित्रहरूका साथमा आश्रमकै उद्यानमा घुम्दै थिए । उनीहरू आपसमा विभिन्न विषयमा कुराकानी पनि गर्दै थिए । कुराकानीका क्रममा एक मित्रले महेन्द्रसित प्रश्न गरे– मित्र महेन्द्र, के म मरेपछि स्वर्ग जान्छु होला त ?
महेन्द्रले गम्भीर हुँदै जवाफ दिए– यदि ‘म’ गयो भने मात्र तिमी स्वर्ग जानेछौ । महेन्द्रको भनाइ सुनेपछि मित्रहरूलाई लाग्यो– आफू विद्याध्ययनमा तेज भएको घमन्डले गर्दा उनले यस्तो भनेका हुन् । उनीहरू सबैले यस विषयमा आफ्ना गुरु देवाचार्यसित गुनासो पनि गरे ।
देवाचार्यलाई थाहा थियो, महेन्द्रमा घमन्ड अलिकति पनि छैन । उनी निरहंकारी छैन । तैपनि, उनले बाँकी शिष्यहरूको मन राखिदिन भने– ठीकै छ, म उनलाई सम्झाइदिनेछु । अर्को दिन बिहानी प्रार्थनासभाको समाप्तिपश्चात् उनले सबै शिष्यका अगाडि महेन्द्रलाई बोलाए । उनले बाँकी शिष्यको गुनासोबारे महेन्द्रसित प्रश्न गरे । महेन्द्रले आफ्नो टाउको हल्लाएर स्वीकृति जनाए । महेन्द्रको स्वीकृतिपछि बाँकी छात्रहरूबीच कानेखुसी सुरु भयो । गुरु देवाचार्यले हल्का मुस्कुराउँदै पुनः उही प्रश्न सोधे– भनेपछि महेन्द्र, तिमी साँच्चै स्वर्ग जान्छौ त ? महेन्द्रले गम्भीर हुँदै जवाफ दिए– गुरुदेव ! यदि ‘म’ गयो भने अवश्यै म स्वर्ग जानेछु ।
देवाचार्यले शिष्यहरूलाई सम्झाउँदै भने– महेन्द्रले यदि ‘म’ गयो भने भनेको ‘म’ अर्थात् अहंकार गयो अर्थात् मेटियो भने म अवश्यै स्वर्ग जानेछु भनेको हो । जबसम्म हामीबाट अहंकार समाप्त हुँदैन, तबसम्म हामी स्वर्ग जानका लागि योग्य हुँदैनौँ । अर्थात् कुनै पुण्य कर्म गरेर होइन, मनको अहंकार मेटेर मात्र स्वर्ग जान सकिन्छ ।